२०८३ मंसिर १२, शुक्रबार

यामाहा एक्सएसआर १५५ को नयाँ रङ सार्वजनिक, मूल्य ५ लाख ६४ हजार ९००

काठमाडौंको दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा एक्सएसआर १५५ मोटरसाइकलको नयाँ रङ सार्वजनिक गरिएको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु राइड्सले नयाँ खरानी–हरियो मेटालिक रङ सार्वजनिक गरेको हो ।

नयाँ रङको मोटरसाइकलको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ । यो मूल्य यसअघि बजारमा उपलब्ध कालो रङको मोटरसाइकलकै बराबर हो । नयाँ रङ थपिएसँगै यामाहा एक्सएसआर १५५ अब पाँचवटा रङमा उपलब्ध भएको छ । यसअघि यो मोटरसाइकल कालो, नीलो, रातो र खरानी रङमा उपलब्ध थियो ।

कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले नेपाल र जापानबीचको लामो मित्रता र सहकार्यको चर्चा गरे । उनले सन् १९५५ मा स्थापना भएको यामाहाले जापानी प्रविधि र इन्जिनियरिङ क्षेत्रमा छुट्टै पहिचान बनाएको बताए ।

उनले एमएडब्लु ग्रुप नेपाली ग्राहकलाई जापानी प्रविधि र गुणस्तरका उत्पादन उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि बताए । उनका अनुसार यामाहा एक्सएसआर १५५ मा पुरानो डिजाइन र आधुनिक प्रविधिको संयोजन गरिएको छ ।

यामाहा एक्सएसआर १५५ मा भीभीए इन्जिन, डेल्टाबक्स फ्रेम, ६ स्पिड गियर र ट्र्याक्सन कन्ट्रोल सिस्टम रहेको छ । यी सुविधाले मोटरसाइकल चलाउँदा गति, स्थिरता र नियन्त्रणमा सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ ।

फेस्टिभलमा जापानी कोटो संगीत, ताइको ड्रम, क्यालिग्राफी र कस्प्ले लगायतका सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । नेपालमा यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु राइड्सले देशभर १०५ वटा आउटलेटमार्फत बिक्री तथा सेवा दिँदै आएको छ । कम्पनीले मोटरसाइकल बिक्रीसँगै सर्भिस र सक्कली स्पेयर पार्ट्सको सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्