२०८३ बैशाख १७, बिहिबार

दक्षिण कोरियामा शाखा खोल्दै ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले दक्षिण कोरियामा शाखा खोल्ने भएको छ । भारत, बेलायत र अष्ट्रेलियामा प्रतिनिधि कार्यालय स्थापना गरिसकेको ग्लोबल बैंक अब भने दक्षिण कोरियामा शाखा खोल्ने तयारीमा जुटेको हो । शाखा स्थापनाको लागि आन्तरिक तयारी पूरा भएर कोरियाको नियामक निकायसँग कुराकानी भइरहेको ग्लोबल आईएमई बैंकका सिनियर डेपुटी चिफ एजुकेटिभ अफिसरले बताए । कोरियामा शाखा स्थापना गर्दा रेमिट्यान्स ल्याउन पनि सहज हुने र कोरियामा नेपाली बैंकले पनि व्यवसाय गर्न सकिने अवस्था देखिएको उनले बताए ।

‘दक्षिण कोरियामा शाखा स्थापना गर्नका लागि हामी त्यहाँको नियामक निकायसँग छलफल गरिरहेका छौं, अन्य देशमा पनि शाखा स्थापना गर्न पहल गरिएको भएपनि तत्कालको लागि कोरियाको अनुभव लिएर सोही अनुसार अघि बढ्छौँ,’ उनले भने । ग्लोबल आईएमई बैंकले कोरियामा शाखा स्थापना गरेमा विदेशमा शाखा खोल्ने पहिलो बैंक पनि सोही बैंक हुनेछ । अहिलेसम्म नेपालका कुनै पनि बैंकले विदेशमा शाखा कार्यालय खोलेका छैनन् ।

कोरियाको नियामक निकायले बनाएको मापदण्डअनुसार सो देशका विदेशी बैंकका शाखा खोल्नका लागि करिब ३५ करोड रुपैयाँ जति चुक्ता पुँजी हुनुपर्ने नियम रहेको र सो रकम बराबरको पुँजीको व्यवस्था गरिने उनले जानकारी दिए । नेपाल सरकार र कोरियाली सरकारबीच सम्झौता भएर नेपाली कामदार कोरियामा काम गर्न जाने गरेका छन् । तर, दुबै देशका सरकारबीच सम्झौता भएर नेपाली कामदार कामको लागि जाने गरे भएपनि कोरियाबाट नेपालमा अपेक्षित रुपमा रेमिट्यान्स नआएको सरकारी अधिकारीहरुको गुनासो छ । कोरियामा नै नेपाली बैंकको शाखा भएपछि सो देशबाट आउने रेमिट्यान्स बृद्धि हुने अनुमान गरिएको छ ।

ग्लोबल आइएमई बैंकसँग अहिलेसम्म १८ वटा बैंक तथा वित्तीय संस्था मर्ज भइसकेका छन् भने बैंक अफ काठमाण्डूसँग मर्जरको अन्तिम तयारी भइरहेको छ । ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्पन्न भएर आगामी मङसिरसम्ममा एकीकृत कारोबार गर्ने तयारी दुबै बैंकले गरेका छन् । अहिले ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी २३ अर्ब रुपैयाँ छ भने २ सय ८९ वटा शाखा छन् । सो बैंकले देशका ७७ जिल्लामा शाखा खोलिसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्