२०८३ मंसिर १०, बुधबार

मुक्तिनाथ बैंक र मणिपाल अस्पतालबीच सम्झौता

मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने समझदारी भएको छ । दुवै संस्थाबीच आज बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम, डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई अस्पतालबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवामा १० देखि २० प्रतिशतसम्म छुट दिनेछ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकले अस्पतालमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई न्यूनतम ब्याजदरमा प्रोफेसनल लोन, होम लोन, अटो लोन, व्यावसायिक कर्जालगायत विभिन्न सहुलियतपूर्ण बैंकिङ सुविधा उपलब्ध गराउनेछ ।

यस सहकार्यबाट बैंकका ग्राहक तथा कर्मचारीले सहुलियत दरमा स्वास्थ्य सेवा प्राप्त गर्नेछन् भने अस्पतालका कर्मचारीले सहज र प्राथमिकतायुक्त बैंकिङ सेवा उपयोग गर्न पाउनेछन् ।

सम्झौताले दुवै संस्थाबीचको संस्थागत सम्बन्ध थप मजबुत बनाउनुका साथै स्वास्थ्य र वित्तीय सेवाबीचको सहकार्य विस्तार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्