पवन सर्राफको अर्धशतकप्रेरित ललितपुर प्याट्रियट्सले आज एभरेष्ट प्रिमियर लिगको उद्घाटन खेलमा काठमाडौं किंग्स–११ लाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । पवनले ६१ रनको इनिङ्स खेल्दै दुई ठूला साझेदारी गरेपछि ललितपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनाएको थियो ।
काठमाडौंको तिब्र गतिका बलर जितेन्द्र मुखियाले पहिलो ओभरमै दुई विकेट लिएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको ललितपुर दबाबमा परेको थियो । जितेन्द्रले पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेल र छैटौं बलमा सुनदुन वीराकोडीलाई पवेलियन बाटो देखाएका थिए ।
साविक विजेता ललितपुरले दोस्रो ओभरमा अर्को विकेट गुमायो । युवा बलर गुल्सन झाले ओशादा फर्नान्डोलाई एलबीडब्यू आउट गरे । फर्नान्डो आउट हुँदा ललितपुर ७÷३ को स्थितिमा थियो । त्यसपछि पवन र शंकर रानाले चौथो विकेटका लागि ५६ रनको साझेदारी गरेपछि ललितपुर सम्मानजनक स्कोरतर्फ लम्किएको थियो ।
शंकर १४ रन बनाएर आउट भएपछि पवनले योगेन्द्रसिंह कार्कीसँग ६२ रनको साझेदारी गरे । पवनले ६१ रन बनाउँदा रायन बुरीको बलमा शेर मल्लको हातबाट क्याच भए । पवनले ४४ बलमा ५ चौका र ४ छक्कासहित ६१ रन बनाए । पवन आउट भए लगत्तै योगेन्द्रसिंह पनि ३३ रन बनाएर पवेलियन फर्किए ।
योगेन्द्रसिंहले २० बलमा तीन छक्का प्रहार गरे । ललितपुरका नारायण जोशीले १२ रन बनाउँदा रानजुङ मिक्यो दोर्जीले १७ ।रनमा अविजित रहे । काठमाडौंका जीतेन्द्रले चार ओभरमा १८ रन दिएर चार विकेट लिए । समान ओभर बलिङ गरेका बुरीले २० रन दिएर दुई विकेट लिए । गुल्सन झाले चार ओभरमा ३५ रन दिएर दुई विकेट लिए । कप्तान सन्दीप विकेटबिहीन रहे ।







प्रतिक्रिया लेख्नुहोस्