२०८३ बैशाख २१, सोमवार

एमाले महाधिवेशनमा चुनावी कार्यतालिका अझै बनेन, केन्द्रीय निर्वाचन समिति अध्यक्षमण्डलको निर्देशन कुर्दै

नेकपा एमालेको दशौं महाधिवेशनको तेस्रो दिन अर्थात् आइतबार नयाँ नेतृत्व चयनका लागि महत्वपूर्ण दिन हो । बिहान ८ बजे नै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि केन्द्रीय निर्वाचन समिति भने अध्यक्षमण्डलको निर्देशन कुरेर बसिरहेको छ ।

शनिबार बन्दसत्रमा सहमतिबाटै नेतृत्व चयन गर्ने प्रस्ताव भएअनुसार केपी शर्मा ओलीलाई पदाधिकारी तथा केन्द्रीय सदस्य सम्बन्धी प्रस्ताव पेस गर्न जिम्मेवारी दिइएको छ । यद्यपि, त्यस्तो प्रस्ताव अहिलेसम्म प्राप्त नभएको र निर्वाचन नै गराउने कि नगराउने भन्नेबारे पनि प्रस्ट निर्देशन नआएका कारण केन्द्रीय निर्वाचन समिति अन्योलमा परेको छ ।

निर्वाचनमार्फत नै नेतृत्व चयन गर्ने अवस्थामा उम्मेदवारको मनोनयन दर्ता, मनोनयनमाथि दाबी विरोध, उम्मेदवारी फिर्ता, मतदान लगायतका प्रक्रियाको तयारी गर्न समय लाग्ने केन्द्रित निर्वाचन समितिको भनाइ छ । यतिबेलासम्म निर्वाचन गर्ने कि सहमतिमै नेतृत्व चयन गर्ने भन्नेबारे प्रस्ट नभएको र अध्यक्षमण्डलबाट कुनै निर्देशन नआएका कारण केन्द्रीय निर्वाचन समिति के गर्ने भन्नेबारे नै अन्योलमा देखिन्छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक विजय सुब्बाका अनुसार अध्यक्ष मण्डलको निर्देशन नआएकै कारण निर्वाचन प्रक्रियासम्बन्धी काम सुरु हुन सकेको छैन । अध्यक्ष मण्डलले निर्देशन दिनासाथ प्रक्रिया सुरु हुने उनको भनाइ छ ।

 

 

प्रतिक्रिया लेख्नुहोस्