बागमती प्रदेशसभा स्थापनाको ४ वर्ष पूरा भएको छ । प्रदेशसभा मंगलबार चौंथो वर्ष पुरा गरेर पाचौं वर्षमा प्रवेश गरेको हो । २०७४ माघ १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । संघीयता कार्यान्वयन चरण सुरु भएलगत्तै बागमती प्रदेशले पहिलो प्रदेशको रूपमा काम अगाडि बढाएको थियो ।यस अवधिमा प्रदेशसभामा थुप्रै राजनीतिक उत्तर चढाव भए ।
बहुमत सांसद संख्याका साथ सरकारको नेतृत्व गरेको एमाले सत्तापक्षको बेन्चबाट अहिले प्रतिपक्षको हैसियतमा पुगेको छ । संविधानत प्रदेशसभाको समयअवधि अब झण्डै एक वर्ष मात्रै बाँकी छ । हाल प्रदेशसभाको नवौं अधिवेशन चलिरहेको छ । हालसम्म संचालन भएका प्रदेशसभाको ९ वटा अधिवेशनमा २ सय १४ वटा बैठक बसेका छन् ।
पहिलो अधिवेशनमा १९ वटा बैठक बसेका थिए भने दोस्रो अधिवेशनमा ६१ वटा बैठक बसेको प्रदेशसभा सचिवालयको रेकर्डमा छ । त्यस्तै तेस्रो अधिवेशनमा ९ वटा बैठक संचालन भएका थिए भने चौथो अधिवेशनमा ३८, पाँचौं अधिवेशनमा २५, छैटौं अधिवेशनमा २४, सातौं अधिवेशनमा ६, आठौं अधिवेशनमा २४ र नवौं अधिवेशनमा हालसम्म ८ वटा बैठक बसिसकेका छन् ।
सुरुवाती चरणमा सहज तवरले संचालन भइरहेको प्रदेशसभा बैठक पछिल्लो समयमा अवरुद्ध हुदै आएको छ । सत्तापक्ष र विपक्षको विभिन्न राजनीतिक मुद्दाका कारणले प्रदेशसभामा अवरोध भइरहेको हो । वितेको ३ वर्षसम्म प्रदेश सभा कानुन निर्माणमा केन्द्रीत भएपनि पछिल्लो समयमा संचालन भएका बैठकहरू सरकार परिवर्तनमै बढी केन्द्रीत हुने गरे ।
माथिका केही उदाहरणले स्वतन्त्र संसदमा दलहरूको हस्तक्षेप बढेको प्रस्टै देखिएको छ । संघीय सरकारले सम्पूर्ण अधिकार प्रत्यायोजन नगर्दा कानून निर्माणको समस्या भोग्दै आएको प्रदेशसभामा दलहरूको हस्तक्षेपले थप संकट निम्त्याएको छ ।स्थापनाको ४ वर्ष पुरा भइसक्दा समेत प्रदेशसभाबाट अत्यावश्यक कानुन निर्माणले अझै पूर्णता पाउन सकेको छैन ।
प्रदेश सरकार स्थापनाताका सरकार संचालन लगायतका विषयका अत्यावश्यक ९९ वटा कानुनको पहिचान गरिएको थियो । पहिचान गरिएका ति कानुनहरु २ वर्षभित्रमा निर्माण गरिसक्ने घोषणा पनि गरिएको थियो ।तर, सत्ता समीकरणको फेरबदलले हालसम्म पनि त्यसले पूर्णता पाउन सकेको छैन । संघीय सरकारले तहगत अधिकार बाँडफाँडको विषय पुरा नहुँदा कानुन निर्माणमा थप जटिलता थपिन पुगेको हो ।







प्रतिक्रिया लेख्नुहोस्