२०८३ असार २०, शनिबार

भीम रावलमाथि देउवाको आक्रोश : दुई जिब्रे बन्न लाज छैन ?

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध गरेकोप्रति आक्रोश व्यक्त गरेका छन्।

नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले भने, ‘एमसिसी संसदबाट पास गर्नुपर्छ भनेर ओलीजीले संसदमा पेश गर्नुभएको हो। त्यसबेलाको अर्थमन्त्री उहाँकै पार्टीको हुनुहुन्छ। भीम रावल अहिले विरोधमा बोल्दै हुनुहुन्छ। उहाँ त्यसबेला रक्षामन्त्री हुनुहुन्थ्यो।’ आफू रक्षामन्त्री हुँदा संसदमा लान निर्णय गर्दा मौन बस्नेले अहिले विरोध गर्नुको अर्थ नभएको बताए।

रावलप्रति आक्रोश पोख्दै देउवाले भने, ‘आफू मन्त्री हुनेमा बेलामा पास गर्ने खोज्ने? खिलाफ थियो भने त्यसबेला किन राजीनामा गरेनन्। गल्ती थियो भने। त्यस बेलामा के हेरेर बसे। खिलाफमा थियो भने राजीनामा गरेर बाहिर किन सकेनन्। त्यस्तो दुई जिब्रे बन्न पाइन्छ। आफू रक्षामन्त्री हुँदा सदनमा ल्याउँदा हुने। मैले ओलीले ल्याएको एमसिसी पास गर्न खोज्दा विरोध गर्ने छ।’उनले एमसिसी आफूले पास गराउन खोज्दा किन टाउको दुख्यो भन्दै प्रश्न गरे। देउवाले भने, ‘अरूलाई टाउको दुखेको छैन, भीम रावललाई टाउको दुख्यो। उस बेला दिमाग खुस्किएको थियो ? थाहा छैन भन्ने ठान्नुहुन्छ यहाँ ? तपाई मन्त्री हुनुहुन्थ्यो अहिले बोल्दा लाज छैन।’

यस्तै, उनले आगामी वैशाख २० गते हुने स्थानीय तहको निर्वाचन गर्न सरकार जिम्मेवार भएकाले सभ्य ढंगले गर्ने स्पष्ट पारे। सरकार जनताको कामप्रति कटिबद्ध रहेको प्रष्ट पारे।

प्रतिक्रिया लेख्नुहोस्