पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय विशेष समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्टको प्राविधिक विषयमा फरेन्सिक ल्याबका विज्ञहरूसँग छलफल गर्ने भएको छ । समितिले मंगलवार प्रहरीको फरेन्सिक ल्याब रिपोर्टबारे विज्ञहरूसँग जानकारी लिने भएको हो ।
यसका लागि मंगलबार दिउँसो ४ बजेको बैठकमा ल्याबका विज्ञलाई बोलाइएको समिति सदस्यसचिव सुरेन्द्र अर्यालले जानकारी दिए । उनले फरेन्सिक ल्याबबाट आएको रिपोर्टको प्राविधिक अध्ययन गर्नुपर्ने देखिएकाले ल्याबका विज्ञहरूलाई बैठकमा आमन्त्रण गरिएको बताए । ल्याबका प्राविधिकहरूसँग समितिले छलफल गरेपछि मात्रै रिपोर्टबारे थप जानकारी दिन सकिने उनको भनाइ छ । अर्थ मन्त्रालयले गत असार १३ र १४ गतेको सीसीटीभी फुटेज डिलिज भएको दाबी गरेको थियो ।
डिलिट भएको भनिएको सीसीटीभी फुटेज रिकभर गर्न समितिले सीसीटीभीको हार्ड डिक्स नेपाल प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । फरेन्सिक ल्याबले सोमवार समितिलाई हार्ड डिक्स फिर्ता गरेको थियो । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै प्रतिनिधिसभाले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेको हो । समिति गठन भएलगत्तै शर्माले पदबाट राजीनामा दिएका थिए ।







प्रतिक्रिया लेख्नुहोस्