२०८३ असार २१, आइतवार

विमानस्थलबाट डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानबाट काठमाडौं आएका भारतीय नागरिक युसुफ हरुनको गतिविधि शंकास्पद देखिएको भन्दै प्रहरीले जाँच गरेको थियो ।

जाँचका क्रममा उनले लगाएको भित्री वस्त्रमा दुई वटा पोकामा रहेको १६ सय १० ग्राम सुन भेटिएको प्रहरीले जनाएको छ । उनले अवैध रूपमा लुकाएर र भन्सार छली गरेर सुन ल्याएकोले पक्राउ गरिएको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र घर्तीले जानकारी दिएका छन् ।

पक्राउ परेका हरुनलाई थप अनुसन्धानका लागि सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्