२०८३ असार २१, आइतवार

नसोधी एक हजार रुपैंयाँ चलाएको निहुँमा श्रीमानले गरे श्रीमतीको हत्या

आफूलाई नसोधी एक हजार रुपैयाँ खर्चेको निहुँमा रुपन्देहीमा व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका(१ की ३१ वर्षीया सावित्री थापा क्षेत्रीको हत्या भएको हो ।

हत्या आरोपमा उनका श्रीमान यमबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान साढे नौ ९ बजेतिर सावित्री थापा आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने सूचना प्रहरीले पाएको थियो । ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनको हत्या भएको अनुमान गर्‍यो ।

मृतकको टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरू, कोठामा रगत बगेको छिटाहरु देखिएको र शरीरका विभिन्न भागमा निलडाम समेत देखिएको थियो । मृतकको श्रीमान ३३ वर्षीय यमबहादुर थापालाई प्रहरीले तत्काल पक्राउ गरी अनुसन्धान थाल्यो । अनुसन्धानका क्रममा यमबहादुरले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

घटनाको अघिल्लो दिन साँझ यमबहादुर थापाले घर नजिकै रहेको पसलमा रक्सी खाएर फर्किएका थिए । तर उनलाई थाहा नै नदिई दराजबाट एक हजार रुपैयाँ लगेर श्रीमतीले पनि रक्सी खाएको थाहा पाएपछि उनले श्रीमतीको हत्या गरेको प्रहरीको भनाई छ ।

रातको करिब २ बजेको समयमा यमबहादुर उठेर दराजमा राखेको पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाएर पैसा नसोधी किन लगेको भनि कुटपिट गरेका थिए । श्रीमतीको कपाल समाई खाटको खुट्टा र भित्तामा टाउको ठोकिदिएको खुलेको छ ।

यमबहादुरलाई ज्यानसम्बन्धी कसुर अन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्