२०८३ असार २१, आइतवार

मुख्यमन्त्री पाण्डे अस्वस्थ भएपछि रोकियो अध्यादेश

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको स्वास्थ्यमा समस्या देखिएपछि अध्यादेश जारी गर्न बस्ने तयारी भएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । प्रदेश सरकारले गत फागुनमा जारी ५ अध्यादेश मध्ये ४ वटा अध्यादेश फेल भएपछि पुनः अध्यादेश ल्याउने गरी तयारी भइरहेको थियो ।

मुख्यमन्त्री पाण्डेले उक्त तयारी अनुसार फेल भएका ४ अध्यादेशलाई मन्त्रिपरिषदबाट स्वीकृती प्रदान गर्न आइतबार बैठक आह्वान गरेका थिए ।आइतबार बिहान बस्ने तय भएको बैठक केही समय अघि सूचना प्रवाह गर्दै मुख्यमन्त्री पाण्डेले एक साताका लागि मन्त्रिपरिषद नबस्ने गरि स्थगन गरेका थिए । मुख्यमन्त्री पाण्डेलाई रुघा खोकी र ज्वरोको संक्रमण देखिएपछि उनलाई चिकित्सकले एक साता आराम गर्न सुझाव दिएका छन् । चिकित्सकको सुझाव अनुसार मुख्यमन्त्री पाण्डे एक साताको लागि काठमाडौंस्थित घरमा बेड रेष्टमा बसेका छन् ।

अस्वस्थ भएपछि उनले कोभिड–१९ संक्रमणको परिक्षण समेत गराएका थिए । उनको कोभिड–१९ संक्रमण परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने एन्टिजेन परीक्षणको रिपोर्ट भने पोजिटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्