२०८३ असार २१, आइतवार

जबराको महाभियोग निष्क्रिय भएको दाबी गर्दै न्याय दिन आग्रह

महाभियोगपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भएको दाबी गर्दै न्याय दिन आग्रह गरेका छन् । बुधबार महाभियोग सिफारिस समितिको बैठकमा बयान दिन पुगेका राणाले विधि–पद्धतिबाट काम गरिरहेको आफूलाई मिडिया र राजनीति दलले पूर्वाग्रह राखेको उल्लेख गरे ।

उनले संसद्ले आफूविरूद्ध लगाएको महाभियोग निष्क्रिय भएको बताउँदै संसद्ले बोलाएपछि सम्मानका लागि बैठकमा आएको बताए । उनले आफूले विधि पद्धति अनुसार काम गर्दा मिडिया र राजनीतिक दलले आफू अनुकूल हुन दबाब सिर्जना गरेको र आफू त्यस्तो दबाबमा काम गर्न नसक्ने भन्दै समितिलाई न्याय दिन आग्रह गरे । महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिएको हो ।

समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको थियो । यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस चलेको थियो । जसकारण बयान लिन ढिलाइ भएको थियो । समितिका सदस्यसमेत रहेका नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले बयानलाई खुला राख्नुपर्ने धारणा राखेका थिए । यद्यपि नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मा, नेकपा (माओवादी) का रेखा शर्मा र नेकपा (एकीकृत समाजवादी) का कल्याणी खड्काले बन्द बयान लिनुपर्ने अडान लिएका थिए ।

महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ । जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ । गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग दर्ता गराएपछि उहाँ स्वतः निलम्वनमा हुनुभएको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्