२०८३ असार २१, आइतवार

‘महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भइसक्यो, संसद्को सम्मानका लागि मात्र आएको हुँ’

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भइसकेको बयान दिएका छन् । बुधबार महाअभियोग सिफारिस समितिलाई बयान दिँदै उनले संसदमा आफूविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय भइसकेको दाबी गरेका हुन् ।

गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले विभिन्न आरोपसहित जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसपछि प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बुधबार उनको बयान लिएको हो । समितिलाई बयान दिने क्रममा जबराले महाअभियोग स्वतः निष्क्रिय भएको र आफू संसद्को सम्मानका लागि मात्र आएको जवाफ दिएका हुन् । आफूलाई बयानमा बोलाउँदा संविधान र संसद्को नियमावली पालना नगरेको बताउँदै उनले महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको जिकिर गरे ।

साथै आफू पछिका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन महाअभियोग प्रस्ताव दर्ता गरेको उनको आरोप छ । दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको दाबी गरेका जबराले यस्ता घटनाले न्यायपालिका कमजोर हुने बताए ।

प्रतिक्रिया लेख्नुहोस्