२०७९ मंसिर १२, सोमवार
Election commission

आम्दानीको बलियो स्रोत बन्दै अम्रिसो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर स्थित हुप्सेकोट –५, राम्चेका श्यामबहादुर राईलाई आफूले लगाएको धानले मुस्किलले चार महिनामात्रै खान पुग्थ्यो । पहाडी क्षेत्रमा धानखेत खासै छैन र हुँदैन पनि । भएको खेतमा लगाएको धानले केही महिनामात्रै गर्जो टथ्र्यो । तर कबुलियती वनमा अम्रिसो खेती गरी आम्दानी हुन थालेपछि, अहिले वर्षभरि चामल कहाँबाट ल्याउने भन्ने पिर उनलाई छैन ।

अम्रिसो खेतीबाट आएको आम्दानीले चामल खरिद गरेर वर्षभरि खान पुग्ने भएको छ । “धान लगाउने खासै ठाउँ छैन, सबै पाखैपाखो छ, लगाएको धानले बढीमा चार महिना चल्थ्यो, त्यसपछि अरु आम्दानी पनि नहुने, के खाने कसरी खाने भन्ने पिर हुन्थ्यो” उनले भने, “तर जहिलेदेखि पहाडको पाखामा अम्रिसो खेती सुरु गरियो, अहिले त्यसबाट हुने आम्दानीले साँझ–बिहान के पकाउने भन्ने पिर हुन छाड्यो, अम्रिसोबाट हुने आम्दानीले चामल किनेर राख्यो खायो ।”

किसान राई जस्तै बुलिङटार–४ देउरालीका मीनबहादुर आलेको अवस्था पनि उस्तै छ । “घरपरिवारको खर्च कसरी चलाउने भन्ने पिरले सताउँथ्यो, नियमित आम्दानी केही थिएन”, उनले भने, “अहिले त कम्तीमा अम्रिसो पाखामा फुलेपछि पैसा आउने बेला भयो भन्ने हुन्छ ।” किसान राईले वार्षिकरूपमा करिब रु ९५ हजार र आलेले करिब रु ६० हजार अम्रिसो बेचेर आम्दानी गर्ने गरे । “पैसा कति भन्ने हुँदो रहेनछ, गर्जो कति टर्यो भन्नेले ठूलो अर्थ राख्ने रहेछ, कम्तीमा वर्षभरि खान पुग्ने चामल किन्ने खर्च, यही पाखोमा फुलेको अम्रिसोले दिएको त छ”, आलेले भने ।

नवलपुरका पहाडी पाखा यतिबेला अम्रिसोले ढाकिएका छन् । पहाडका बासिन्दाको आम्दानीको बलियो स्रोत अम्रिसो बन्दै गएको छ । केही वर्ष पहिलेसम्म नाङ्गा पाखाका रूपमा रहेको पहाड अहिले आम्दानीको स्रोत बनेका छन् । पहाडी क्षेत्रको जीविकोपार्जनमा अम्रिसो बरदानजस्तै बनेको कबुलियती वन जिल्ला सुपरभाइजर तुलबहादुर रानाले जानकारी दिए । उनका अनुसार जिल्लाको पहाडी क्षेत्रलाई चार भागमा विभाजन गरी यहाँ रहेका कबुलियती वनमा अम्रिसो खेती लगाउने गरिएको छ । यसअनुसार राम्चे क्षेत्रमा १९ वन समूह छन् । यी वन समूहमा अम्रिसो खेती गर्ने घरधुरी सङ्ख्या एक सय ९० रहेको छ । रुचाङ क्षेत्रका २५ वन समूहमा दुई सय २८ घरधुरी, बुलिङटार क्षेत्रका २५ समूहमा तीन सय २५ र हुप्सेकोट क्षेत्रका २५ समूहमा तीन सय २५ घरधुरी अम्रिसो खेतीमा आवद्ध रहेका छन् । चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियती वनमा आवद्ध भएर अम्रिसो खेती गर्दै आएका छन् ।

सामूहिकरुपमा अम्रिसो खेती गर्ने र आएको रकम दामासाहीरूपमा प्रतिघर बाँड्ने गरेको उनले बताए। अम्रिसोबाट भएको आम्दानीमध्ये केही वन समूहमा राख्ने र समूहमा आवद्ध सदस्यलाई न्यून ब्याज प्रतिशतमा बिनाधितो छ महिनासम्म ऋण लगाउने गरिएको उनले बताए । बैंक र वित्तीय संस्थाको पहुँच नभएका पहाडी क्षेत्रमा आफूले गरेको आम्दानीबाट बचत भएको रकम खाँचो पर्दा लिन सकिने हुँदा स्थानीयलाई थप राहत पुगेको रानाले बताए । “आफ्नो आम्दानी त छँदै छ, वन समूहमा भएको बचतले अप्ठ्यारो परिस्थितिमा खाँचो टार्नसमेत सहयोग पुगेको छ”, सुपरभाइजर रानाले भने “अहिले वन समूहले कम्तीमा रु ५० हजारदेखि चार लाखसम्म बचत गरेका छन् ।”

प्रत्येक वर्ष जेठ अन्तिमदेखि असार १५ सम्म अम्रिसो लगाउने गरिन्छ । मङ्सिरदेखि फागुनसम्म अम्रिसो काट्ने बेला हुने रानाले बताए । नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको अम्रिसो व्यापारीले खरिद गरी भारत, बङ्गलादेशसम्म निर्यात गर्ने गरेको उनले बताए । यसबाहेक स्थानीय बजार कावासोती, दलदले, नारायणगढ, बुटवलमा अम्रिसोको कुचो बिक्री हुने गरेको उनले बताए ।

गत वर्ष पहाडी क्षेत्रमा रहेका कबुलियती वनमा लगाइएको अम्रिसोबाट एक सय ५२ दशमलव सात सय १३ मेट्रिक टन अम्रिसोको कुचो उत्पादन भएको थियो । जसबाट गत वर्ष रु एक करोड ९८ लाख ५२ हजार आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए । डिभिजन वनले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेशामा जोड्नका लागि पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको सूचना अधिकारी गौतमले जानकारी दिए । डिभिजन वन कार्यालयले यसै वर्ष ५५ हजार बोट अम्रिसोको बिरुवा पहाडी क्षेत्रमा वितरण गरी रोपेको छ । यसले थप क्षेत्रफल बढ्ने र क्रमशः अम्रिसोबाट हुने आम्दानी बढाउँदै लैजाने उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्