२०८२ माघ २९, बिहिबार

टर्कीको संसद्‌मा सांसदबीच मुक्का हानाहान

विवादास्पद व्यक्तिलाई न्याय मन्त्रालयको जिम्मेवारी दिइएको विरोधमा बुधबार टर्कीको संसद्‌मा सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच हातहालाहाल भएको छ। तनाव चर्किँदा सांसदहरूले एकअर्कालाई धकेलाधकेल गर्दै मुक्का हानेका दृश्य सार्वजनिक भएका छन्।

राष्ट्रपति रजेप तैयप एर्दोगानले इस्तानबुलका पूर्व मुख्य अभियोजक अकिन गुरलेकलाई न्यायमन्त्री नियुक्त गरेपछि विपक्षी दलले कडा विरोध जनाएको थियो। विपक्षी सांसदहरूले गुरलेकलाई संसद्‌मा शपथग्रहण गर्नबाट रोक्ने प्रयास गरेपछि अवस्था नियन्त्रण बाहिर गएको हो

गुरलेकले मुख्य विपक्षी रिपब्लिकन पिपल्स पार्टी (सीएचपी)का धेरै नेतामाथि मुद्दा चलाएका थिए। ती मुद्दा राजनीतिक प्रतिशोधबाट प्रेरित भएको भन्दै सीएचपीले लामो समयदेखि आलोचना गर्दै आएको छ। हंगामाबीच सत्तारूढ दलका सांसदहरूले गुरलेकलाई घेरा हालेर शपथ गराएका थिए।

यसैबीच, एर्दोगानले पूर्वी प्रान्त एर्जुरुमका गभर्नर मुस्तफा चिफ्त्चीलाई गृहमन्त्री नियुक्त गरेका छन्। मन्त्रिपरिषद्‌ फेरबदलको आधिकारिक कारण सार्वजनिक गरिएको छैन। सरकारी राजपत्रअनुसार बाहिरिएका मन्त्रीहरूले जिम्मेवारीबाट मुक्त हुन अनुरोध गरेका थिए।

टर्कीमा सम्भावित संवैधानिक सुधारको बहस चलिरहेका बेला यी नियुक्तिहरू गरिएको हो। उता, सीएचपी नेतृत्वका नगरपालिकाका सयौँ अधिकारीहरू भ्रष्टाचार अनुसन्धानमा पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा इस्तानबुलका मेयर एकरेम इमामोग्लु पनि छन्, जसलाई एर्दोगानको प्रमुख राजनीतिक प्रतिद्वन्द्वी मानिन्छ।

सरकारले भने न्यायपालिका स्वतन्त्र रूपमा काम गरिरहेको दाबी गर्दै आएको छ। साथै, दशकौँदेखिको द्वन्द्व अन्त्य गर्न मिलिटेन्ट कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)सँग शान्ति पहल अघि बढाइएको बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्