काठमाडौँ उपत्यकाको वायु प्रदूषण आइतबार अस्वस्थ तहमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’ (AQI) अनुसार आइतबार मध्याह्नसम्म काठमाडौँको वायु गुणस्तर १७५ एक्युआई मापन गरिएको छ।
यससँगै काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरूमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ। सोही समयमा इजिप्टको कायरो विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माण गतिविधिका कारण वायु प्रदूषण बढेको हो। उनले औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार प्रदूषण तथा छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि काठमाडौँको वायु गुणस्तरमा नकारात्मक प्रभाव पारेको बताए। ‘पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ ।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार ०–५० एक्युआईलाई राम्रो, ५१–१०० सचेत रहनुपर्ने, १०१–१५० अस्वस्थ, १५१–२०० सबैका लागि अस्वस्थ, २०१–३०० धेरै अस्वस्थ तथा ३०० भन्दा माथिको अवस्था अत्यन्तै खतरनाक मानिन्छ।
काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा माथि पुगेको अवस्थालाई सरकारले विपद् मान्ने व्यवस्था गरेको छ। सो अवस्थामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने, साथै बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था गरिएको छ।
राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि तथा जोखिमपूर्ण रासायनिक प्रदूषणसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति रहेको छ। साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम भएका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्शाङ्कन गरिने उल्लेख छ।







प्रतिक्रिया लेख्नुहोस्