२०८३ मंसिर ३, बुधबार

काठमाण्डू गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज क्वालिफायर-२ मा

कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले काठमाण्डू गोर्खाजलाई ६१ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको क्वालिफायर–२ मा स्थान बनाएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको एलिमिनेटरमा जित निकाल्दै चितवनले उपाधि यात्रालाई जीवित राखेको हो।

चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डूले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो। यससँगै चितवनले एनपीएल इतिहासमा पहिलोपटक क्वालिफायर–२ खेल्ने भएको छ। यसअघि पहिलो सिजन एलिमिनेटरसम्म पुगेको चितवन दोस्रो सिजन भने लिग चरणबाटै बाहिरिएको थियो। अब चितवनले फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै साविक विजेता लुम्बिनी लायन्स यसअघि नै फाइनल पुगिसकेको छ। क्वालिफायर–२ को विजेताले शनिबार हुने फाइनलमा लुम्बिनीसँग उपाधिका लागि खेल्नेछ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको थियो। उसका लागि कमिल मिशाराले अविजित १२० रनको उत्कृष्ट पारी खेले। उनले ५९ बलमा पाँच चौका र १० छक्का प्रहार गरे। मिशाराको यो करियरको तेस्रो टी–२० शतक हो। उनको शतकसँगै चितवनले एनपीएलमा आफ्नो अहिलेसम्मकै उच्च योगफल बनाएको छ। यसअघि यही सिजन काठमाण्डूविरुद्ध बनाएको १७० रन चितवनको उच्च योगफल थियो।

चितवनको इनिङ्समा कप्तान रवि बोपाराले पनि महत्त्वपूर्ण योगदान दिए। उनले ४२ बलमा तीन चौका र दुई छक्कासहित ५३ रन बनाए। मिशारा र बोपाराबीच तेस्रो विकेटका लागि १५४ रनको शतकीय साझेदारी भयो। यो चितवनको एनपीएल इतिहासकै उच्च साझेदारी हो भने प्रतियोगिताकै तेस्रो ठूलो साझेदारी हो।

यसअघि ओपनर देव खनालले १७ रन बनाएका थिए। उनले १५ बलमा दुई चौका र एक छक्का प्रहार गरे। काठमाण्डूका कप्तान करण केसीले चौथो ओभरमा देव र डाविड मलानलाई लगातार आउट गरेपछि चितवन २२ रनमा दुई विकेट गुमाएको अवस्थामा पुगेको थियो। मलान पहिलो बलमै आउट भएका थिए। त्यसपछि मिशारा र बोपाराले इनिङ्स सम्हाल्दै ठूलो साझेदारी गरे। १९औँ ओभरको तेस्रो बलमा राशिद खानले बोपारालाई बोल्ड गरेपछि साझेदारी टुटेको थियो। त्यसपछि विवेक यादवले तीन बलमा दुई चौकासहित आठ रन जोडे। काठमाण्डूका करण केसी र राशिद खानले दुई–दुई विकेट लिए।

२०५ रनको लक्ष्य पछ्याएको काठमाण्डूले सुरुदेखि नै नियमित अन्तरालमा विकेट गुमायो। टोलीका लागि विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए। उनले २८ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। भीम शार्कीले अविजित ३० रन बनाए। १७ बल खेलेका उनले तीन छक्का प्रहार गरे। सहान अराचिगेले १३ बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे। राशिद खानले १२ रन बनाए।

ओपनर साहिल पटेल दोस्रो ओभरमै दुई रन बनाएर आउट भएका थिए। त्यसपछि बोसिस्टो र साम हिजलेटले २५ रनको साझेदारी गरे। तर हिजलेट पाँचौँ ओभरमा तीन रन बनाएर आउट भएपछि काठमाण्डूले ३० रनमा दुई विकेट गुमायो। बोसिस्टो र राशिदले तेस्रो विकेटका लागि ३३ रन जोडे पनि त्यसपछि काठमाण्डूको ब्याटिङ सम्हालिन सकेन। बोसिस्टो, राशिद र सहानको विकेट गुमाउँदा टोली ९२ रनमा छ विकेटको अवस्थामा पुगेको थियो। कप्तान करण केसी र जहानदाद खानले एक–एक रन मात्र बनाउन सके। सोनु देवकोटाले छ र सन्तोष यादवले १० रन जोडे।

चितवनका रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १६ रन खर्चेर चार विकेट लिए। उसामा मिरले चार ओभरमा १५ रन दिँदै तीन विकेट हात पारे। कुशल मल्ल र सलाउद्दिन खानले एक–एक विकेट लिए।

प्रतिक्रिया लेख्नुहोस्