रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहेका नागरिक र उद्धार तथा राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार भदौ १० गते ठूलो बाढी आएको भोटेकोशी क्षेत्रमा शुक्रबार लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ। यससँगै नदीमा फेरि बाढी आउन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ।
भोटेकोशी र त्रिशूली नदी किनारमा उद्धार तथा राहतमा खटिएका व्यक्ति तथा जोखिम क्षेत्रमा रहेका सबैलाई सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ। जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानमा जान समेत अनुरोध गरिएको छ।
प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतले शुक्रबार जारी गरेको सूचनामार्फत नदीको बहावमा आउने परिवर्तनलाई गम्भीरतापूर्वक लिन आग्रह गरेकी छन्।
प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्न र सम्भावित बाढीबाट जोगिन आवश्यक सावधानी अपनाउन समेत आग्रह गरेको छ।







प्रतिक्रिया लेख्नुहोस्