भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सोमबार साँझ काठमाडौं फर्किएका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले स्वागत गरेका छन्। प्रधानमन्त्री शाहको यो पदभार सम्हालेपछिको पहिलो औपचारिक भारत भ्रमण हो।
प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलसहित आइतबार नयाँदिल्ली पुगेका थिए। सोमबार भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरी उनी नेपाल फर्किएका हुन्। नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार तथा नेपाली दूतावासका वरिष्ठ अधिकारीले बिदाइ गरेका थिए।
मोदीसँग वार्ता, राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए। उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गरेका थिए।
मोदीसँगको वार्तामा नेपाल–भारत सम्बन्ध, व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, सम्पर्क सञ्जाल र आर्थिक सहकार्यमाथि छलफल भएको थियो। भ्रमणका क्रममा दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने आठवटा समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएका छन्।
आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
नेपाल र भारतबीच भएका आठ समझदारीमा शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपालन तथा मत्स्यपालनका विषय समेटिएका छन्।
समझदारीअनुसार भारतको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबीच अनुसन्धान तथा शैक्षिक सहकार्य हुनेछ। भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच पनि सहकार्य गर्ने समझदारी भएको छ।
त्यस्तै, भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।
आयुर्वेद तथा परम्परागत चिकित्सा, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा पनि दुई देशले सहकार्य गर्नेछन्। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच दक्षिण एसिया भूउपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने समझदारीसमेत भएको छ।
पूर्वाधार र ऊर्जा सहकार्यमा पनि घोषणा
भ्रमणका क्रममा दुई प्रधानमन्त्रीले दार्चुला–धार्चुला जोड्ने महाकाली नदीको मोटरेबल पुल र मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको संयुक्त उद्घाटन गरेका थिए। बनबासामा एकीकृत जाँच चौकी, झापामा ग्रीनफिल्ड पेट्रोलियम भण्डारण टर्मिनल र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास पनि गरिएको थियो।
त्यस्तै, अयोध्या–जनकपुर जोड्ने सरयू–कमला रेलसेवाको शुभारम्भ गरिएको थियो। भारतले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेज घोषणा गरेको छ।
सरकारी अधिकारी, व्यवसायी र पत्रकार भ्रमण टोलीमा
प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारी सहभागी थिए। भ्रमण टोलीमा निजी क्षेत्रका व्यवसायी तथा सञ्चारकर्मी पनि थिए।
भ्रमणका क्रममा भएका समझदारी र घोषणाले नेपाल–भारतबीचको आर्थिक तथा संस्थागत सहकार्य विस्तार गर्ने आधार तयार गरेको छ। यद्यपि, तिनको वास्तविक उपलब्धि भने समझदारी कार्यान्वयन, आयोजनाको प्रगति र प्रतिबद्धताअनुसार स्रोत परिचालनमा निर्भर हुनेछ।









प्रतिक्रिया लेख्नुहोस्