२०७९ अशोज ९, आइतवार

तालिमपछि व्यवसायी र प्रशिक्षक बन्दै महिला

नीरा गौतम। हातमा सीप नहुँदा करिब एक वर्षअघिसम्म बुटवल उपमहानगरपालिका– ४ की निर्जला अधिकारी बेरोजगार हुनुहुन्थ्यो । स्नातक तह उत्तीर्ण गरेर पनि हातमा सीप नहुँदा खाली बस्नाको पीडाले उहाँले निकै पिरोल्थ्यो । श्रीमान्को कमाइले घरखर्च चलाउनै ठीक्क हुने भएकाले अन्य आवश्यकता पूरा गर्न समस्या थियो । बुटवल उपमहानगरपालिकाको महिला उद्यम विकास कार्यक्रमअन्तर्गत थाकलको पातबाट विभिन्न हस्तकलाका सामग्री बनाउने तालिम लिएपछि उहाँको जीवनस्तरमै ठूलो परिवर्तन आयो ।

पन्ध्रदिने तालिमले अधिकारीलाई उद्यमीका रुपमा स्थापित गर्‍यो । स्थानीय जङ्गलबाट कच्चा पदार्थ ल्याएर थाकलबाट विभिन्न खालका झोला, टोपी बनाउने कार्यमा लगातार लागिपर्नुभएका अधिकारीले अहिले आफूजस्तै केही गर्न चाहने महिलालाई तालिम दिइरहनुभएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत थाकलबाट विभिन्न सामग्री बनाउने तालिममा उहाँले प्रशिक्षण दिनुभएको छ । बुटवलमा मात्रै होइन जिल्लाका अन्य नगरपालिकाले समेत प्रशिक्षकका रूपमा उहाँलाई बोलाउने गरेका छन् ।

“बुटवल उपमहानगरपालिकाको एउटा तालिमले मेरो जीवनमा यति ठूलो परिवर्तन आयो । हिजोसम्म पाँच रुपियाँका लागि पनि हात फैलाउनुपर्ने अवस्था थियो, अहिले त उल्टै दिन सक्ने भएकी छु, यसले मलाई निकै उत्साहित बनाएको छ”, खुशी हुँदै उहाँले भन्नुभयो । लगानी कम लाग्ने र स्थानीय जङ्गलमै कच्चा पदार्थ पाइने भएकाले थाकलबाट विभिन्न सामग्री बनाउने तालिममा स्थानीय महिलाको रुचि रहेको उहाँको भनाइ छ । “बजारीकरणका लागि पोखरा र काठमाडौँमा पनि स्याम्पल पठाएकी छु । प्रतिक्रिया राम्रो आएको छ”, उहाँ भन्नुहुन्छ ।

उहाँले उपमहानगरपालिकाले अहिले वडा नम्बर ११ मजुवामा आयोजना गरेको तालिममा थाकलबाट सामान बनाउन महिलालाई सिकाइरहनुभएको छ । “एक केजी थाकललाई साढे चार सयमा बेच्न सकिन्छ भने थाकलबाट बनेको ब्याग रु पाँच सयदेखि १२ सयमा बिक्री हुन्छ”, अधिकारी भन्नुहुन्छ, “एउटा ब्याग एक दिनमै सकिने भएकाले दिनमा रु पाँच सय सजिलै आम्दानी गर्न सकिन्छ । ”

बुटवल–१३ बदेलपोखरीकी गीता बोहराको दिनचर्या पनि आजभोलि फेरिएको छ । उपमहानगरको केशकर्तन तालिम लिएपछि आफ्नै व्यवसाय सुरु गर्नुभएका बोहरालाई कपाल काट्न भ्याइनभ्याइ छ । बोहराले सैलुनमा पुरुष तथा महिलाको कपाल काट्ने, दाह्री बनाउने, फेसियल गर्नेलगायत सेवा दिँदै आउनुभएको छ । नब्बेदिने ‘हेयरकटिङ ट्रेनिङ’पछि दक्ष बन्नुभएका बोहराले आफ्नै ठाउँमा ‘सानु युनिसेक्स सैलुन’ सञ्चालन गरी मासिक रु ४० हजारसम्म आम्दानी गर्न सफल हुनुभएको छ । “घरमै सबै बेरोजगार थियाँै तर अहिले सानो भए पनि आफ्नै उद्यम शुरु गर्न पाउँदा निकै आनन्द लाग्दोरहेछ”, बोहराले सुनाउनुभयो ।

बोहरा मात्रै होइन बुटवल–१४ की राधिका घिमिरे पनि सीपयुुक्त बनेर आर्थिक रूपले आत्मनिर्भर बन्नुभएको छ । सीप सिक्न जाँदा धेरै पैसा लागेपछि बीचमै छाड्नुभएका घिमिरेलाई उपमहानगरले ‘नगर प्रमुख युवा इलम कार्यक्रम’अन्तर्गत आयोजना गरेको सिलाइकटाइ तालिम जीवनमा परिवर्तन ल्याउने माध्यम बन्यो । “खाली बस्नु पर्दा निकै तनाव हुन्थ्यो, सीप नभएपछि कतै जागिर पनि पाइन तर अहिले व्यस्त छु, खुशी छु ”, घिमिरेले भन्नुभयो । उहाँले अहिले आफ्नै वडामा आयोजित ‘एडभान्स सिलाइकटाइ तालिम’मा प्रशिक्षण दिइरहनुभएको छ । हातमा सीप नहुँदा अथौभाव झेल्नुपर्दाको समस्या अहिले हटेको घिमिरेले सुनाउनुभयो ।

घिमिरे जस्तै बुटवल–१६ नरैनापुरकी पम्फादेवी सापकोटा पनि उद्यमी बनेर आय आर्जन गर्न सफल हुनुभएको छ ।उपमहानगरले आयोजना गरेको तीनमहिने ढाका बुनाइ तालिम लिएपछि आफ्नै घरमा ढाकाको तान राखेर व्यवसाय सुरु गर्नुभएका सापकोटाले महिनामा रु २५ हजारसम्म आम्दानी गर्नुभएको छ । यस क्षेत्रमा ढाका बुनाइको तालिम नौलो भएकाले केही समय गाह्रो भए पनि पछि हात बस्दै गएकाले सहज भएको सापकोटाको अनुभव छ । “खाली समय व्यतीत गर्नुभन्दा समयमै सीप सिकेर आत्मनिर्भर बन्न जरुरी रहेछ”, सापकोटा भन्नुहुन्छ, “ आफ्नो खर्चका लागि अरूसँग हात फैलाउन परेन भने त्यो नै ठूलो कुरा हो ।” सापकोटाले बुनेको एउटा ढाकाको सारीको न्यूनतम मूल्य रु दश हजार र एउटा पछ्यौराको रु दुई हजारसम्म पर्छ । बुन्न निकै मेहनत लाग्ने भएकाले मागअनुसार पु¥याउन नसकिएको सापकोटा सुनाउनुहुन्छ ।

सापकोटा मात्रै होइन उहाँकी बुहारी लक्ष्मी बुढाथोकी पनि सिलाइकटाइ तालिमपछि सफल प्रशिक्षक बन्नुभएको छ । उहाँले सिलाइकटाइ तालिम भएका बेला प्रशिक्षण र अन्य समयमा घरमै ढाका बुन्ने गर्नुभएको छ । सासूबुहारी मिलेर उद्यम सञ्चालन गरेकाले निकै सहज भएको सापकोटा बताउनुहन्छ । “तालिम परेका बेला उनी तालिममा जान्छिन् , अरू बेला घरमा मिलेर काम गर्ने र व्यवसाय पनि चलाउने गर्छौँ”, सापकोटा भन्नुहुन्छ ।

गरिबीको रेखामुनि रहेका परिवारका लागि स्थानीय स्रोत साधन परिचालन गरी स्थानीयस्तरमै उद्यमशीलतमा विकासमार्फत रोजगारी सिर्जना गर्न युवा इलम कार्यक्रम र उपप्रमुख महिला उद्यमशील कार्यक्रम सञ्चालन गरिएको हो । उद्यम विकासका लागि उद्यमीको माग, बजार सम्भाव्यता, स्थानीय कच्चा पदार्थ र सम्भाव्यता हेरेर कार्यक्रम तय गरिएको हो ।

उपमहानगरपलिकाले नगर प्रमुख युवा इलम कार्यक्रममार्फत करिब एक हजार जनालाई र उपप्रमुख महिला उद्यमशील कार्यक्रममार्फत करिब तीन हजार ३०० जनालाई सीपमूलक/उद्यम विकास तालिम प्रदान गरेको उपमहानगरपालिका, उद्योग वाणिज्य तथा पर्यटन प्रवद्र्धन, अनुगमन तथा मूल्याङ्कन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सीपमूलक तालिम लिएकाहरूलाई उद्यम व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने उपकरण र औजारसमेत उपलब्ध गराइएको छ । उद्यम तथा व्यवसाय सुरु गर्न चाहनेलाई प्रोजेक्ट बैंक लेखनमा सहयोग गर्ने एवं उपकारण तथा औजार सहयोग गर्ने काम भइरहेका छन् । रोजगारीकै लागि श्रम तथा रोजगार बैंक स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

रोजगारदातासँग समन्वय गरी बेरोजगारलाई रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ उपमहानगरपालिकाले श्रम बैंक पोर्टल ‘बुटवल रोजगार डटकम’ सञ्चालन गरेको हो । रोजगारी चाहने नागरिकले बुटवल रोजगार डटकममा गई आवश्यक रोजगारी, सेवासुविधा तथा सबै विवरणसहित अनलाइन फाराम भर्न सक्ने छन् भने रोजगारदाताले यो बैंकमार्फत आवश्यक जनशक्ति व्यवस्थापनका लागि फाइदा लिन सक्नेछन् ।

उपमहानगरका महिला शिल्पकला तालिम केन्द्र, सिकाइ केन्द्र्र, नागरिक सचेतना केन्द्र्र, टोल विकास संस्था, आमा समूह तथा अन्य सामुदायिक सङ्घसंस्थामार्फत समुदायस्तरमा करिब १७ हजारलाई विभिन्न प्रकारका सीपमूलक तथा आयमूलक तालिम प्रदान गरिएको छ ।

नगरप्रमुख युवा इलम कार्यक्रमअन्तर्गत कुक, एसी रेफ्रिजेरेटर मर्मत, प्लम्बिङ, फेसन डिजाइनिङ, जनरल मेकानिक अटो मेकानिक र हेभी इक्विपमेन्ट कफी बनाउने, फास्टफुड, हेयर कटिङ, ढाकाको कपडा डिजाइन, सोलार एन्ड बिल्डिङ इलेक्ट्रिसियन तालिम सञ्चालन गरिएको छ ।

महिला आर्थिक सशक्तीकरण उद्यमशीलता विकास परियोजनाअन्तर्गत नर्सरी र दुग्ध उद्यम, बाख्रा तथा कुखुरापालन तालिममार्फत धेरैलाई रोजगारी सिर्जना भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत पापड, भुजिया तथा फुरनदाना बनाउने, पुतली तथा कुसन –जुत्ता –थाकलबाट सामग्री बनाउने र अचार बनाउने तालिम दिइएको छ ।

पारिवारिक खेती सबलीकरण परियोजनाअन्तर्गत प्लम्बिङ र इलेक्ट्रिसियन तालिम तथा परम्परागत सीप प्रवद्र्धन कार्यक्रमअन्तर्गत कपडाको झोला र जुत्ता बनाउने तालिम दिइएको छ । महिला उद्यम कार्यक्रमअन्तर्गत हलुका सवारी चालक, कपाल काट्ने, भिडियोग्राफी तथा फोटोग्राफीसम्बन्धी तालिम र छालाको जुत्ता बनाउने तालिम आयोजना गरी उद्यमी बन्न सघाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कम्तीमा १०० दिनको रोजगारी सुनिश्चित गरी विभिन्न विकासनिर्माणका काममा परिचालन गरिएको छ । यी रोजगारीका कार्यक्रमले बेरोजगारलाई उद्यमतर्फ डो¥याउने काम गरेको छ ।

युवा इलम र सशक्तीकरण कार्यक्रमले युवालाई नेपालमै केही गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्नाका साथै आर्थिक आत्मनिर्भर बनाएको छ । यसबाट विपन्न परिवारको स्तर उकासिनाका साथै ‘समृद्ध बुटवल, सुखी बुटवलबासी’ भन्ने नारालाई सार्थक तुल्याएको छ ।

यी कार्यक्रमले आर्थिक अवस्था कमजोर भएर पछाडि परेका महिला आयआर्जनमा जोडिएको उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो । “महिला उद्यम कार्यक्रमले परिवारको राम्रो स्वास्थ्य र शिक्षा सुनिश्चित गर्न सहयोग पुगेको छ । घरेलु र सामाजिक हिंसा न्यूनीकरण गर्न बल पुगेको छ”, उपप्रमुख आचार्यले भन्नुभयो, “महिला सशक्तीकरण कार्यक्रमबाट महिलाले पनि केही गर्न सक्छन् भन्ने कुरा प्रमाणित हुनाका साथै महिलालाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन भयो ।” महिलालाई उद्यमसँग जोड्दा सामाजिक, आर्थिक, राजनीतिकलगायत क्षेत्रमा नेतृत्व लिने बाटो खुलेको उहाँको भनाइ छ ।

बेरोजगार रहेका लक्षित समूहका व्यक्तिलाई प्रशिक्षित जनशक्ति परिचालन गरी उद्यमशीलता तालिमका क्रममा तयार गरिएको योजनानुसार सीप विकास कार्यक्रम सञ्चालन गरी व्यवसाय गर्न तयार पार्ने, सोका लागि वित्त र प्रविधिमा पहुँच तथा बजारीकरणका लागि समेत उपमहानगरले सहजीकरण गरेको छ । यति मात्रै नभई उद्यम व्यवसाय सञ्चालन, विस्तार तथा स्तरोन्नतिका लागि आवश्यक पर्ने उपकरण सहयोग गरिएको छ ।

युएनडिपी, बुटवल टेक्निकल इन्स्टिच्युटका सहयोगमा उपमहानगरले सञ्चालन गरेको युवा इलम कार्यक्रम निकै उत्साहबद्र्धक रहेको प्रमुख शिवराज सुवेदीले बताउनुभयो । “युवा इलम कार्यक्रमअन्तर्गत विभिन्न विधाका प्राविधिक तालिमप्राप्त युवाले तुरुन्तै रोजगारी पाउनुभएको छ, कतिपय रोजगारीमा लाग्नुभएको छ । यसको प्रभाव राम्रो छ”, प्रमुख सुवेदीले भन्नुभयो, “बुटवल टेक्निकल इन्स्टिच्युटले गरेको प्रभाव मूल्याङ्कनमा पनि कार्यक्रम उत्साहबद्र्धक रहेको देखाएको छ ।” प्रमुख सुवेदीले प्रभाव मूल्याङ्ककनका आधारमा व्यवसायीलाई रु ४०/४० हजार च्यालेन्ज फन्डसमेत वितरण गरिएको बताउनुभयो ।

पहिलो चरणमा छोटो अवधिको तालिम सञ्चालन गरिए पनि आगामी दिनमा क्षमता अभिवृद्धि गरी माथिल्लोस्तरको तालिम सञ्चालन गर्ने योजना उपमहानगरको छ । “यो छोटो अवधिको कार्यक्रम हो, अब उहाँहरूमध्येबाट जो जो सफल हुँदै जानुहुन्छ, थप क्षमता अभिवृद्धि गर्दै जाने र व्यावसायिक योजना पनि बनाइदिने छौँ”, प्रमुख सुवेदीले भन्नुभयो ।

प्रतिक्रिया लेख्नुहोस्