२०८३ भदौ ७, आइतवार

पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपति संग्रहालयको उद्घाटन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको पशुपति संग्रहालय तथा महास्नान भवनको उद्घाटन गरेका छन्।

संग्रहालयमा धार्मिक महत्त्वका सुनका जलप लगाइएका मूर्ति, तामारपित्तलरढलौटका मूर्तिहरु, ढुंगाका प्रस्तरकला, संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुण्डो एवम् पुरातात्विक महत्वका काष्ठकला, चित्रकला, मुर्तिकला, लिञ्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तक, प्राचीन मुद्रा तथा मूर्त अमूर्त सम्पदाका सामग्रीहरु राखिएको छ । कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सांस्कृतिक सम्पदाहरुलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले पाशुपत क्षेत्रमा छरिएर रहेका धार्मिक, सांस्कृतिक महत्त्वका सामग्रीहरुलाई एकै स्थानमा संकलन, अभिलेखीकरण र प्रस्तुतिकरण गरी संग्रहालयको रुपमा विकास गरिनु निकै ठुलो उपलब्धी भएको बताए । पशुपति परिसर सभ्यताको पहिचान बोकेको स्थान रहेको बताउँदै उनले यसको संरक्षण, व्यवस्थापन र सरसफाईमा समेत ध्यान दिनुपर्ने बताए । २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले महत्त्वपूर्ण पशुपति महास्नानघर भवनलाई नेपाल इन्भेष्टमेन्ट बैंकले पुनर्निर्माण गरेको हो ।

पुनर्निर्माणपछि बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ । बैंकले पशुपति संग्रहालय महास्थानघर परियोजनामा ५ करोड १४ लाख रुपैयाँ तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोडभन्दा बढी सहयोग गरेको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले पशुपति संग्रहालय तथा महास्नान भवनको संरक्षण र मर्मतसम्भारमा समेत निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

मन्त्री श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको प्रयास अन्य बैंक तथा वित्तीय संस्थाका लागि पनि अनुकरणीय रहेको बताए ।

प्रतिक्रिया लेख्नुहोस्