२०८३ मंसिर १२, शुक्रबार

जनताका समस्या सुन्न ऊर्जामन्त्री श्रेष्ठ गण्डकी प्रदेशको स्थलगत भ्रमणमा जाने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ आज गण्डकी प्रदेशका विभिन्न जिल्लाको स्थलगत अनुगमनमा जाने भएका छन् । सिँचाइ तथा ऊर्जा क्षेत्रको अवस्था, बाढीपहिरोबाट भएको क्षति, पुनर्निर्माण र सम्भावित जोखिम न्यूनीकरणका उपायबारे जानकारी लिन मन्त्री श्रेष्ठ गण्डकी प्रदेश जान लागेका हुन् ।

उनले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वतलगायत जिल्लामा पहिरो नियन्त्रण, नदी तथा खोलामा तटबन्ध निर्माण र सिँचाइ आयोजनासँग सम्बन्धित समस्याको स्थलगत जानकारी लिने कार्यक्रम रहेको छ ।

अनुगमनका क्रममा कास्कीमा पहिरोबाट भएको क्षति र प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिइनेछ। त्यस्तै, स्याङ्जामा जलविद्युत् आयोजना तथा नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित विषयको निरीक्षण र समीक्षा गर्ने कार्यक्रम छ ।

विपद्बाट प्रभावित नागरिकका समस्या पहिचान गर्ने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई गति दिने र सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक योजना बनाउने उद्देश्यले भ्रमण गर्न लागिएको जनाइएको छ ।

स्थलगत निरीक्षणबाट प्राप्त सुझाव र जानकारीका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल समाधान गर्नुपर्ने समस्या र दीर्घकालीन योजनाको पहिचान गरिनेछ । नागरिकको घरदैलोमै पुगेर समस्या सुन्ने र समाधानका लागि प्रत्यक्ष पहल गर्ने सरकारको प्राथमिकताअनुसार मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको भ्रमण गर्न लागेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्