२०८३ बैशाख १९, शनिबार

पाकिस्तानमा भारी हिमपातका कारण आफ्नै गाडीभित्र फसेका कम्तीमा २१ जनाको मृत्यु

उत्तरी पाकिस्तानमा भारी हिमपातका कारण आफ्नै गाडीभित्र फसेका कम्तीमा २१ जनाको मृत्यु भएको छ । मुरीको पहाडी सहरमा हिमपात हेर्न गएका पर्यटकहरू आएका कारण करिब एक हजार सवारीसाधनहरू अलपत्र परेका छन् ।स्थानीय आपत्कालीन उद्धार सेवाका अनुसार एक प्रहरी, उनकी पत्नी र उनीहरूका ६ बालबालिका र अर्को परिवारका पाँच सदस्यको मृत्यु भएको छ ।

हिउँमा फसेका ३०० जनालाई उद्धार गरिएको त्यहाँको सेनाले जनाएको छ । सैनिक इन्जिनियर र फौजले मुरी जाने सडकका हिउँ हटाउने काम पनि सुरु गरेको सेनाका एक प्रवक्ताले बताएका छन् । राजधानी इस्लामावादको उत्तरमा रहेको क्षेत्रमा यात्रा गर्ने मानिसको अत्यधिक संख्याका कारण संकट उत्पन्न भएको गृहमन्त्री शेख रसिदले बताएका छन् । शुक्रबारसम्म पर्यटकहरू फसेको स्थानीय मिडियाले जनाएका थिए । शनिबार भारी हिउँ र सवारीसाधनहरूको वृद्धिले अधिकारीहरूलाई यस क्षेत्रलाई प्रकोप क्षेत्र घोषणा गर्न बाध्य बनायो ।

सामाजिक सञ्जालमा भएका तस्बिर र भिडियोहरूमा कारहरूको छतमा समेत हिउँ जमेको देखिन्छ । आपत्कालीन सेवाहरूका अनुसार १० बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । कम्तीमा ६ जनाको चिसोका कारण मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै, निस्सासिएर पनि मृत्यु भएको हुन सक्ने बताइएको छ । बीबीसी

प्रतिक्रिया लेख्नुहोस्