भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व आज देशभर भगवान् शिवको पूजा–आराधना तथा व्रत बसेर मनाइँदैछ। तीजका अवसरमा बिहानैदेखि काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ।
हरितालिका तीजमा व्रत बसी भगवान् शिव र पार्वतीको पूजा–आराधना गरेमा पारिवारिक सुख, शान्ति तथा कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले यो व्रत गर्न सक्ने भए पनि सामाजिक रूपमा भने महिलाले श्रीमान्को दीर्घायु, पारिवारिक सुख तथा समृद्धिको कामनाका लागि तीजको व्रत बस्ने प्रचलन बढी छ। धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार व्रत बस्ने पुरुषले विधुर हुन नपर्ने, महिलाले अटल सौभाग्य प्राप्त गर्ने तथा अविवाहित महिला–पुरुषले गुणसम्पन्न वर वा वधु प्राप्त गर्ने शास्त्रीय मान्यता छ।
हरितालिका तीजको सुरुआतसँग सम्बन्धित पौराणिक कथाअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान् महादेवलाई पति पाउने इच्छा राखेर गौरीघाटमा कठोर तपस्या गरेकी थिइन्। पार्वतीलाई भगवान् विष्णुसँग विवाह गरिदिने तयारी उनका पिता हिमालयले गरेपछि उनले आफ्ना साथीहरूसँग आफ्नो समस्या सुनाइन्। साथीहरूले पार्वतीलाई हरण गरी कसैले नदेख्ने स्थानमा लुकाएर राखेको र त्यहीँ उनले निराहार व्रत तथा तपस्या गरेर महादेवलाई पति रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ।
पार्वतीलाई साथीहरूले हरण गरेको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता रहेको छ। संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्द मिलेर ‘हरितालिका’ बनेको हो। ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी भन्ने हुन्छ।
तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सहजताका लागि बिहान ३ बजेदेखि नै चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भक्तजनलाई सहज रूपमा दर्शन गराउन चारवटा छुट्टाछुट्टै दर्शन मार्गको व्यवस्था गरिएको छ। मित्रपार्क–उमाकुण्ड हुँदै आउने, जयवागेश्वरी क्षेत्रबाट आउने, सिनामङ्गल तथा विमानस्थलतर्फबाट आउने र पिङ्गलास्थानतर्फबाट आउने दर्शनार्थीका लागि छुट्टाछुट्टै मार्ग निर्धारण गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिएका छन्।
बिहानको समयमा भक्तजनले करिब आधा घण्टाको लाम बसेर पशुपतिनाथको दर्शन गर्न सक्ने अवस्था रहेको कोषले जनाएको छ। भदौरे झरीका बाबजुद पनि व्रतालु तथा दर्शनार्थीहरू बिहानैदेखि लाममा बसेर दर्शन गरिरहेका छन्।
तीज पर्वलाई लक्षित गर्दै पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। कोषका अनुसार आज पशुपति क्षेत्रमा करिब ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यस्तै, २४ वटा धार्मिक तथा सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक पनि भक्तजनको व्यवस्थापन तथा सहयोगका लागि खटिएका छन्। दर्शनार्थीका लागि सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा चन्दन वितरणको व्यवस्था गरिएको छ।
हरितालिका तीजका अवसरमा पशुपतिनाथबाहेक देशभरका प्रमुख शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। काठमाडौं उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायतका शिव मन्दिरमा व्रतालु तथा दर्शनार्थीको लाम लागेको जनाइएको छ।
तीजलाई धार्मिक आस्था र परम्परासँगै सामाजिक तथा सांस्कृतिक पर्वका रूपमा पनि मनाउने गरिन्छ। पछिल्ला वर्षहरूमा तीजको धार्मिक पक्षसँगै महिला सहभागिता, सामाजिक भेटघाट तथा सांस्कृतिक गतिविधिका कारण यसको दायरा अझ व्यापक बन्दै गएको छ।







प्रतिक्रिया लेख्नुहोस्