२०८३ अशोज १५, बिहिबार

अरिंगालले टोक्दा एकजनाको मृत्यु, एकजना घाइते

धादिङमा अरिंगालले टोक्दा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

मंगलबार (असोज १४) बेलुका करिब ६ः३० बजे धुनिबेँसी नगरपालिका–९, रानागाउँमा अरिंगालले टोक्दा घाइते भएका दुईमध्ये उपचारका क्रममा एकजनाको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

रानागाउँमा जग्गा भाडामा लिई तरकारी खेती गर्दै आएका दाङका ३७ वर्षीय कमानसिंह घर्तीमगर र धुनिबेँसी–९, सिक्रेखोलाका ५३ वर्षीय राम तामाङलाई अरिंगालले टोकेको थियो । नजिकै पाखोमा अरिंगाल पोल्ने क्रममा त्यसले टोक्दा उनीहरू घाइते भएका थिए ।

त्यसपछि छिमेकीले उनीहरूलाई उपचारका निम्ति काठमाडौं ल्याएका थिए । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा बिहीबार (असोज १५) बिहान कमानसिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तामाङ भने सामान्य उपचारपश्चात् आफूखुसी ‘डिस्चार्ज’ भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्