२०८३ कार्तिक १७, सोमवार

धरानमा हवाईफायर गरेर पाँचजना पक्राउ

प्रहरीले हवाईफायर गरी पाँचजनालाई पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुई स्कोर्पियो गाडीमा गाँजा ‘लोड’ गर्दै गरेका पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाईफायर गरेको थियो । हवाईफायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो । सोमबार (कात्तिक १६) बिहान करिब ३ बजे बा१च ५०३८ र को१च ८१८२ नम्बरका स्कोर्पियो गाडीमा गाँजा लोड भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले आठ पोकामा राखिएको करिब २१० किलो गाँजा ती गाडीमा लोड गरिरहेको अवस्थामा फेला पारेको हो ।

गाँजासहित पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव (बा१च ५०३८ का चालक), सप्तरीकै राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको मधुबनीका ३८ वर्षीय सन्तोष ठाकुर छन् ।

यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह (को१च ८१८२ का चालक) र धरान–११ का २१ वर्षीय अमृत बिशुंखेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्