त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा पाकिस्तानले घरेलु टिम न्युजिल्यान्डलाई ६ विकेटले हराएको हो ।
१४८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले १८.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो । पाकिस्तानका कप्तान बाबर अजामले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ७९ रन बनाए । त्यस्तै शादब खानले ३४ र मोहम्मद नवाजले १६ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका ब्लाइर टिक्नरले दुई, टीम साउथी र ट्रेन्ट बोल्टले समान १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४७ रन बनाएको थियो ।
न्युजिल्यान्डका लागि डेभोन कोनओयले ३६, मार्क च्यापम्यानले ३२ र कप्तान केन विलियम्सनले ३१ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस राउफले तीन, मोहम्मद वासिम र मोहम्मद नवाजले समान २/२ विकेट लिए । यसअघि पाकिस्तानले त्रिदेशीय टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा बाङ्लादेशलाई २१ रनले हराएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्