२०८० चैत्र १६, शुक्रबार

टि–ट्वान्टी विश्वकप: नेदरल्याण्डले दक्षिण अफ्रिकालाई १३ रनले हरायो

टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्याण्डले दक्षिण अफ्रिकालाई १३ रनले हराएको छ । आइतवार बिहान भएको खेलमा नेदरल्याण्डले दिएको १ सय ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले भेट्टाउन सकेन ।

टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ रोजेपछि ब्याटिङ् गरेको नेदरल्याण्डले ४ विकेटको क्षतिमा १५८ रन बनायो । जवाफमा दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १ सय ४५ रन मात्र बनाउन सक्यो । यो खेलमा विजयी भएको भए दक्षिण अफ्रिकाले सेमिफाइनल यात्रा तय गर्ने थियो । दक्षिण अफ्रिका पराजित भएसँगै अब भने बंगलादेशलाई हराए पाकिस्तानले आफ्नो भाग्य खोल्न सक्नेछ । अर्को खेल बङ्गलादेश र पाकिस्तानबीच आजै बिहान पौने १० बजे हुँदैछ । भारत र जिम्बाबे बीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ।

समूह बी मा समान चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेर ४–४ अङ्क जोडे पनि रनरेटका आधारमा पाकिस्तान तेस्रो र बङ्गलादेश चौथो स्थानमा छन्। चारमा ३ खेलमा जित र एकमा हार व्यहोरेको भारत ६ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा छ। यसअघि शनिबार भएको खेलमा श्रीलङ्कालाई चार विकेटले हराउँदै इङ्ग्ल्यान्ड टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्