२०८१ बैशाख ६, बिहिबार

नेपालले आईसीसी महिला यु १९ विश्वकप आयोजना गर्ने

नेपाल र बंगलादेशले सन् २०२७ को आईसीसी महिला यु १९ विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आइतबार विभिन्न उमेर समूहको विश्वकप आयोजना गर्ने राष्ट्र निर्धारण गरेको हो ।

सोहीअनुसार नेपाल र बंगलादेशलाई संयुक्त रूपमा यु १९ महिला विश्वकप आयोजना गर्ने जिम्मा दिइएको हो । बंगलादेश आयोजक हुनेछ भने नेपाल सहआयोजक हुने क्रिकेट एसोसिएसन नेपाल क्यानले जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पहिलो पटक विश्वकप आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए । उनले आयोजनाको लागि ठूलो लबिइङ गरेको बताए ।

‘एकदम गौरवको विषय हो । यो चार वर्ष पछि आयोजना हुने हो । एकदमै ठूलो ‘लबिइङ’ का बीच आयोजना गर्न पाएका हौं,’ चन्दले भने ।आईसिसीले नेपाललाई प्रतियोगिता आयोजना गर्न कम्तीमा पाँच मैदान आवश्यक पर्ने बताएको छ । जसमध्ये दुई मैदानमा खेल हुनेछन् । मैदान र खेलस्थल टुंगो लाग्न बाँकी छ । क्यानले काठमाडौंको त्रिवि खेल मैदान र मूलपानीसहित पोखरा मैदान, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय मैदान र भैरहवा मैदानको नाम आइसिसीलाई बुझाएको छ ।

यसैगरी सन् २०२५ को यु–१९ महिला विश्वकप मलेसिया र थाइल्यान्डले आयोजना गर्दा सन् २०२४ को यु १९ पुरुषको आयोजना श्रीलंका, सन् २०२६ को जिम्बाव्बे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्