काठमाडौं । कुनै मानिसले जीवनमा कति उपलब्धी हासिल गर्न सक्छ यसको अनुमान लगाउन कठिन हुन्छ । तर उसको आर्थिक, सामाजिक पृष्ठभूमी र गरेको परिश्रमले आंशिक रुपमा गर्न सक्ने प्रगतिको आकलन गर्न सकिन्छ । त्यसो भन्दैमा कुनै मानिसको कमजोर आर्थिक अवस्था, शारीरिक कमजोरी र संशाधनको अभावमा प्रगति नै गर्न नसक्ने भने होइन । यसको उदाहरण हुन्- फुटबल स्टार लियोनल मेस्सी । यिनै विश्वकप विजेताले सोमबार युवा स्टार किलियन एम्बाप्पे र इर्लिङ हाल्यान्डलाई पछि पार्दै कीर्तिमानी ८ औं पटक प्रतिष्ठित बालोन डि’ओर उचाले ।
बुबा स्टिल कारखानाका कमदार, आमा सफाइ कर्मचारी । बाल्यकालमा मेस्सीको घरमा हरेक दिन समस्या, अभाव र गरिबी थियो । तर यी सबै कुराबाट अज्ञात बालक मेस्सी, यसको ठिकविपरीत आफैंमा मग्न हुन्थे । अझै भनौं उनी फुटबलमै हराउँथे । त्यसै कारण उनले ५ वर्षको उमेरदेखि नै स्थानीय क्लबमा फुटबल खेल्न थाले । तर ६ वर्षको हुँदा ग्रोथ हर्मोनसम्बन्धी रोगबाट ग्रसित हुन पुगे । उनको रोगसँग लड्ने क्षमताका साथै आँखाको दृष्टिमा पनि कमी आउन थाल्यो । उपचारका लागि मासिक १ सय डलर लाग्थ्यो । आर्थिक स्थिति कमजोर भएका कारण उनको परिवारका लागि यो सम्भव थिएन ।
भनिन्छ- संसारको सबैभन्दा सजिलो काम दोष थोपर्नु हो । मेस्सीले आफू कर्मबाट विमुख हुन गरिबी र स्वस्थ्य अवस्थालाई कहिलै दोष दिएनन् । बरु समस्याको डटेर सामना गरेका उनले प्रतिकूलता चिर्दै फुटबल खेल्दै गए । १३ वर्षमै जादूमयी फुटबल कलाले सबैलाई प्रभावित पारिसकेका मेस्सीमाथि विश्वकै सर्वाधिक सफल मध्येको एक स्पेनिस क्लब बार्सिलोनाको नजर पर्यो । उनलाई उपचार गरिदिने भनेर क्लबे नै स्पेन लग्यो र उपचार भयो । न्याप्किन पेपरमा साईन गरेर सम्झौता गरेका मेस्सीले त्यसपछि भने जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनले बार्सिलोनालाई क्लब फुटबलका हरेक उपाधि दिलाए ।
अर्जेन्टिनालाई सन् १९८६ पछि गत वर्ष पहिलो पटक विश्वकपको उपाधि जिताएका मेस्सीले अन्तर्राष्ट्रिय र क्लब फुटकलमा जित्न बाँकी कुनै प्रतियोगिता र उपाधि सायदै बाँकी होलान् । उनले फिफा विश्वकप, कोपा अमेरिका, ओलम्पिक गोल्ड मेडल, फिफा यू-१९ विश्वकप, युएइफा च्याम्पियन्स लिग, स्पेनिस लिग ला-लिगा, कोपा डिल रे, फिफा क्लब विश्वकप, स्पेनिस सुपरकप र युएइफा सुपर कप जितिसकेका छन् ।
अमेरिकन क्लब इन्टर मायामीलाई लिग्स कपको रुपमा इतिहासमै पहिलो ट्रफी दिलाएका मेस्सीका लागि त्यो पछिल्लो उपाधि हो भने कीर्तिमानी ८ औँ बालोन डि’ओर व्यक्तिगत सम्मान । क्रिस्टियानो रोनाल्डोले पाँच पटक बालोन डि’ओर जितेका छन् । उनी मेस्सीपछि दोस्रो स्थानमा छन् । फुटबल प्रशिक्षक पेप गार्डियोलाले भने जस्तै- तपाईं उसको बारेमा नलेख्नुहोस्, उसलाई वर्णन गर्ने प्रयास नगर्नुहोस्, केवल उसलाई हेर्नुहोस् र जादुगरको अविश्वसनीय फुटबल कलामा रमाउनुहोस् ।
प्रतिक्रिया लेख्नुहोस्