२०८३ कार्तिक २, आइतवार

वेस्ट इन्डिजका आन्द्रे रसेलले विराटनगरबाट एनपीएल खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका निम्ति विराटनगर किंग्सले विश्व क्रिकेटका चर्चित अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ । आइतबार विराटनगरले प्रतियोगिताका निम्ति रेसेललाई भित्र्याइएको जनाएको हो ।

वेस्ट इन्डिजका अनुभवी खेलाडी रसेललाई ट्वान्टी–२० क्रिकेटका सबैभन्दा खतरनाक अलराउन्डरमध्ये एक मानिन्छ । दबाबपूर्ण अवस्थामा पनि खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता भएका उनले आफ्नो आक्रामक खेलशैलीमार्फत विश्व क्रिकेटमा छुट्टै प्रभाव जमाएका छन् ।

रसेलले सन् २०१० मा वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो यात्रा सुरु गरेका थिए । उनले २०१२ मा वेस्ट इन्डिजलाई श्रीलंकामा भएको आईसीसी पुरुष टी–२० विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । २०१६ मा भारतमा भएको टी–२० विश्वकप जित्दा पनि उनी वेस्ट इन्डिज टोलीका महत्त्वपूर्ण सदस्य थिए ।

रसेलले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सका निम्ति लामो समयदेखि प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । विशेष गरी डेथ ओभरमा आक्रामक ब्याटिङ, छक्का प्रहार गर्ने र महत्त्वपूर्ण समयमा विकेट लिने क्षमताका कारण उनी फ्रेन्चाइज क्रिकेटमा निकै लोकप्रिय छन् । यसबाहेक उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल), बिग बास लिग (बीबीएल)लगायत विभिन्न अन्तर्राष्ट्रिय टी–२० प्रतियोगितामा आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन्् ।

रसेलले घरेलु टी–२० क्रिकेटमा नौ हजार ९३३, टी–२० अन्तर्राष्ट्रियमा एक हजार १२२ र एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार ३४ रन जोडेका छन् । बलिङतर्फ उनले घरेलु टी–२० क्रिकेटमा ५३९, टी–२० अन्तर्राष्ट्रियमा एक हजार २२१, एकदिवसीय अन्तर्राष्ट्रियमा दुई हजार २२९ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनले १०४ विकेट लिएका छन् ।

रसेलको आगमनसँगै टोली थप मजबुत भएको विराटनगरले विश्वास व्यक्त गरेको छ । “आन्द्रे रसेलजस्ता विश्वस्तरीय खेलाडीलाई विराटनगर किंग्सको परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ । उनको अनुभव, विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङले हाम्रो टोलीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएका छौँ,” विराटनगरले भनेको छ ।

टोलीले अगाडि भनेको छ, “यस सिजन हाम्रो लक्ष्य केवल प्रतिस्पर्धा गर्नु मात्र होइन, उपाधिका निम्ति बलियो दाबेदारी प्रस्तुत गर्नु हो । रसेलको आगमनले हाम्रो टोलीमा आत्मविश्वास, ऊर्जा र जितको भोक थप्नेछ । हामी विराटनगरका समर्थकलाई गर्व गर्ने अवसर दिन चाहन्छौँ ।”

विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा उत्साहित रहेको बताउँदै रसेलले नेपाली क्रिकेट समर्थकमाझ आफ्नो खेल प्रदर्शन गर्न आतुर रहेको बताए । “एनपीएल–३ का निम्ति विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा म निकै उत्साहित छु । नेपाली क्रिकेट समर्थकको जोस र माया अनुभव गर्न म आतुर छु । मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै समर्थकलाई मनोरञ्जन दिनु र विराटनगर किंग्सलाई उपाधि जिताउन योगदान गर्नु मेरो मुख्य लक्ष्य हुनेछ,” उनले भने ।

उनले थपे, “नेपालमा क्रिकेटप्रति समर्थकको जुन किसिमको क्रेज र माया छ, त्यसलाई नजिकबाट अनुभव गर्न म निकै उत्साहित छु । नेपाली समर्थकसामु खेल्नु र उनीहरूको ऊर्जा महसुस गर्नु मेरा निम्ति विशेष अनुभव हुनेछ । म विराटनगर किंग्सका समर्थकलाई उत्कृष्ट क्रिकेटको रोमाञ्चकता दिन र टोलीका निम्ति आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आतुर छु ।”

रसेलको आगमनले प्रतियोगिताको माहोल झनै तताएको छ । यसअघि, काठमाण्डू गोर्खाजले अस्ट्रलियका पूर्वराष्ट्रिय क्रिकेटर डेभिड वार्नरलाई भित्र्याएपछि प्रतियोगिताको माहोल गर्माएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्