२०८३ कार्तिक १७, सोमवार

एनपीएल: पोखरालाई ९ रनले हराउँदै जनकपुरको लगातार दोस्रो जित

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लगातार दोस्रो जित निकालेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको हो।

जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो। यस जितसँगै तीन खेल खेलेको जनकपुरले चार अंक जोडेको छ। पोखराले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ। लक्ष्य पछ्याउने क्रममा पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए। विपिन आचार्यले २०, विपिन खत्रीले १७ र किरण ठगुन्नाले १५ रन जोडे। तर, अन्य ब्याटरबाट पर्याप्त योगदान नआउँदा पोखरा लक्ष्यसम्म पुग्न सकेन।

जनकपुरका मोइन अलीले तीन विकेट लिए। कप्तान हरमित सिंह र सैफ हसनले दुई–दुई तथा ललित राजवंशी र जिम्मी निशामले एक–एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४७ रन बनाएको थियो। जनकपुरका लागि ओपनर तृतराज दासले सर्वाधिक ६१ रन बनाए।

अभिषेक तिवारी २४ रनमा अविजित रहे भने मोइन अलीले २१ र जिम्मी निशामले ११ रन जोडे। पोखराका शकिब अल हसनले तीन विकेट लिए। चामिका करुणारत्नेले दुई तथा मोहम्मद सैफुद्दीन र मेहदी हसनले एक–एक विकेट लिए।

यसअघि पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले त्यसपछि काठमाण्डू गोर्खाजलाई आठ विकेटले हराएको थियो। पोखरा भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो। जनकपुरसँगको हारसँगै पोखराको लगातार दोस्रो हार भएको छ।

प्रतिक्रिया लेख्नुहोस्