२०८३ मंसिर ४, बिहिबार

सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएल फाइनलमा, चितवन तीन विकेटले पराजित

चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो।

योसँगै सुदूरपश्चिम लगातार तीन सिजन एनपीएलको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ। यसअघिका दुई सिजनमा पनि फाइनल पुगेको सुदूरपश्चिम दुवैपटक उपविजेतामा सीमित भएको थियो। सुदूरपश्चिमको जितमा थारिन्दु रत्नायकेले ५३ रनको महत्त्वपूर्ण योगदान दिए। विनोद भण्डारीले २३, दीपेन्द्रसिंह ऐरीले १५ तथा इशान पाण्डे र आरिफ शेखले समान १० रन बनाए।

चितवनका बलर रञ्जित कुमारले दुई विकेट लिए। कमलसिंह ऐरी, रिजन ढकाल, उस्मा मिर र सलाहुद्दीन खानले एक–एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो। चितवनका लागि डेविड मलानले अविजित ७१ रन बनाए। सलाहुद्दीन खानले १८ र कमलसिंह ऐरीले १० रन जोडे।

सुदूरपश्चिमका स्कट कुगेलाइनले तीन विकेट लिए। थारिन्दु रत्नायकेले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले एक–एक विकेट लिए। अब उपाधिका लागि सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्