२०८३ बैशाख १७, बिहिबार

अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने राष्ट्र संघको चेतावनी

संयुक्त राष्ट्रसंघले हालै अमेरिकी सैनिक फर्किएको र तालिबान विद्रोहीले सत्ता कब्जा गरेको अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने चेतावनी दिएको छ।

अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघका ह्युम्यानिटेरियन कोर्डिनेटर रामिज अलाकबारोभले अबको एक महिनामै तीन अफगानमध्ये एक जनाले खान नपाउने अवस्था आउन सक्ने बताएका हुन्।‘मानवीय हिसाबले अफगानिस्तानको अवस्था अहिले निकै तनावपूर्ण छ,’ अलाकबारोभले बुधबार भने,‘अहिले पनि देशका आधाभन्दा बढी बालबालिकाले अर्को छाक खानका लागि संघर्ष गरिरहेका छन्।’

अलाकबारोभका अनुसार ३ करोड ८० लाख जनसंख्या भएको अफगानिस्तानमा एक तिहाइ मानिसले अर्को छाक खान पाउनेरनपाउने टुंगो हुँदैन। संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले केही साताअघि खाद्यान्न ल्याएर लाखौं मानिसलाई बाँडेको थियो।विश्व खाद्य कार्यक्रमको डिपोमा रहेको खाद्यान्न सेप्टेम्बर अन्त्यसम्ममा रित्तिने अलाकबारोभको भनाइ छ। त्यसपछि थप खाद्यान्न ल्याउन २० करोड डलर रकम तत्काल चाहिने अलाकबारोभले बताए।

उक्त पैसाको जोहो भने भइसकेको छैन। २० वर्ष अमेरिकी सेना अफगानिस्तानमा बस्दा ठूलो मात्रामा अन्तर्राष्ट्रिय सहयोग आउँथ्यो। अहिले त्यो क्रम रोकिएको छ।सत्ता कब्जा गरेका तालिबानहरूले अहिलेसम्म नयाँ सरकार बनाइसकेका छैनन्। उनीहरूले कस्तो सरकार बनाउँछन् र त्यो सरकारलाई कुन(कुन देशले मान्यता दिन्छन् भन्ने कुराले अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानलाई गर्ने सहयोगमा असर पर्नेछ।

अलजजिरा टेलिभिजनका अनुसार दुई साताअघि तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा बजार मूल्य आकासिएको छ। खाद्यान्नको मूल्य ५० र पेट्रोलियम पदार्थको मूल्य ७५ प्रतिशतसम्म बढेको छ। सरकारी कर्मचारीहरूले तलब पाउन सकेका छैनन्। बैंकहरूमा पैसा झिक्ने मानिसहरूको लामो लाइन लागेको छ। केही बैंकहरू अझै बन्द छन्।तालिबानहरूले सबै बैंक खोल्नेबार बैंकिङ एसोसिएसनका पदाधिकारीहरूसँग कुराकानी गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्