२०८२ अशोज २७, सोमवार

इजरायलको आक्रमणमा गाजामा ६३ प्यालेष्टिनीको मृत्यु

युद्ध रोक्ने घोषणा गरेको केही घण्टाभित्रै इजरायलले गरेको आक्रमणमा गाजामा कम्तीमा ६३ जना प्यालेष्टिनीको मृत्यु भएको छ।

बढ्दो भोकमरीका कारण चर्को आलोचना भएपछि इजरायलले गाजामा मानवीय सहायताका लागि भन्दै दैनिक १० घण्टा आक्रमण रोक्ने बताएको थियो। तर तोकिएको १० घण्टाभित्रै आक्रमण गरी प्यालेष्टिनी नागरिकको ज्यान लिएको हमासको दाबी छ । हिजो इजरायली सेनाले अल-मवासी, देइर अल-बलाह र उत्तरी तथा मध्य गाजामा बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सैन्य गतिविधि रोक्ने बताएको थियो।

त्यो अवधिमा खाद्यान्न तथा औषधि बोकेका गाडीहरु जान दिने बताएको थियो। साथै इजरायलले केही भूभागमा आफैले जहाजमार्फत् खाद्यान्न खसालेको थियो। तर यहीबीचमा सैन्य गतिविधि बढेको र ६३ जनाको हत्या भएको हमासको दाबी छ। गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भोकमरीबाट मात्रै २ बालबालिकासहित ६ जनाको मृत्यु भएको बताएको छ। योसहित गाजामा भोकमरीका कारण मात्रै मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।

विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले गाजाका प्रत्येक तीन बासिन्दामध्ये एक जनाले कयौँ दिनदेखि खाना खान नपाएको र लगभग ५ लाख मानिस चरम आद्य संकटमा फसकेको बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस्