निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई दिएको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले साता लामो सुनुवाइपछि जसपाको आधिकारिकता बहुमतका आधारमा यादव पक्षलाई दिने फैसला सुनाएको हो । जसपाको आधिकारिकताका लागि आयोगले आज तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल एक हुँदा हस्ताक्षर गरेका ५१ जना सदस्यलाई हेड काउन्टका लागि बोलाएको थियो ।
उक्त क्रममा यादवको पक्षमा ३४ जना र महन्थ ठाकुरको पक्षमा १६ सदस्य उभिएका थिए । एक सदस्य रेशम चौधरी तटस्थ बसेका थिए । आफ्ना पक्षमा बहुमत सदस्यको समर्थन जुटाएलगत्तै अध्यक्ष यादवले अब पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने जानकारी दिनुभयो । निर्वाचन आयोगमा गरिएको कार्यकारिणी सदस्यको हस्ताक्षरमा आफ्ना पक्षमा अत्यधिक बहुमत जुटेको पनि उहाँले जिकीर गर्नुभयो।यादवले आफूहरुले अर्का अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई घोक्र्याएर हटाउन नचाहेको भन्दै ठाकुर पक्षले आत्मालोचना गरेमा पार्टीले बिचार गर्नसक्ने टिप्पणी पनि गर्नुभयो । त्यसका लागि विगतका गलत प्रवृत्ति सच्याउनुपर्ने र आत्मालोचना गर्नुपर्ने उहाँको शर्त छ ।
ठाकुर लगायतले प्रतिगमनकारीलाई साथ दिनु पार्टीको नीति र सिद्धान्तविपरित भएको अध्यक्ष यादवको भनाइ थियो । पूर्वपर्ती प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा सत्ता विघटन र त्यसलाई हर्ने दृष्टिकोणमा विभाजित यादव र ठाकुर पक्ष अन्ततः पार्टी विभाजनकै अवस्थामा पुगेका छन् ।यादव पक्ष संसद पुनर्स्थापनाका लागि अदालत जाँदा ठाकुर पक्ष भने तटस्थ बसेको थियो । यद्यपि, अदालतले संसद पुनर्स्थापना गरिदिएपछि भने ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्