तीन लाख ५० हजार उदयपुरवासीको साझा अस्पतालका रुपमा रहेकोे जिल्ला अस्पतालमा लामो समयदेखि चिकित्सकको दरबन्दी पूर्ति नहुँदा अस्पताल सञ्चालनमा समस्या हुँदै आएको छ ।पचास श्यया क्षमताको अस्पतालमा १३ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एकस्थायी मेडिकल अधिकृतसहित अन्य दुई अस्थायी मेडिकल अधिकृतबाट अस्पताल सञ्चालन हुँदै आएको छ ।
जिल्ला अस्पतालमा उपचारका लागि आउने विभिन्न रोगीको चाप दिनदिनै बढ्दै गरे पनि सम्बन्धित रोगको विशेषज्ञको अभावमा उपचारमा असर परेकोे अस्पतालका कर्मचारी बताउँछन् ।तेह्र जनाको दरबन्दीमध्ये अहिले एक स्त्रीरोगसम्बन्धी र एक जनरल फिजिसियन र एक मेडिकल अधिकृतमात्र रहेकाले सोचेजस्तो उपचार हुन नसकेको जिल्ला अस्पतालका प्रमुख तथा मेडिकल अधिकृतले जानकारी दिएका छन् ।
अस्पतालमा अधिकांश चिकित्सकसहित एनेस्थेसियाको पनि दरबन्दी खाली रहेको उनको भनाई थियो । “उपचारका लागि धेरै बिरामी आउने गर्नुहुन्छ, यहाँ विद्यमान जनशक्तिले भ्याउन सकेको छैन, अन्य विषयगत चिकित्सक नहुँदा सम्बन्धित रोगका बिरामी जिल्ला बाहिर पठाउन बाध्य छौँ”, मेडिकल अधिकृतले भने ।
अस्पतालमा दरबन्दीअनुसारको जनशक्तिको अभावका कारण नै जिल्लावासीले सोचेजस्तो सेवा पाउन नसक्नुको मुख्य कारण रहेको उहाँको धारणा थियो ।दरबन्दी पूरा गर्न अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले नै पहल गर्न नसकेको आरोप स्थानीयवासी रमेश दाहालको आरोप थियो ।
दुई वर्षअघि स्वास्थ्य विभागले रु एक करोडमा खरिद गरेर पठाएको दुई वटा भेन्टिलेटर पनि एनेस्थेशिया चिकित्सककोे अभावमा सञ्चालन हुन नसक्दा भेन्टिलेटर थन्किएर बसेको अस्पताल विकास समितिका सदस्यले जानकारी दिएका छन् । अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजकले आफूहरुले पटकपटक सम्बन्धित निकायमा चिकित्सक र अन्य कर्मचारीको दरबन्दी पूरा गरिदिन अनुरोध गर्दै आएको दुई वर्ष बितिसके पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्