२०८३ अशोज १६, शुक्रबार

एभरेष्ट बैंक ग्राहकलाई मेदान्त अस्पतालमा छुट

एभरेष्ट बैंक लिमिटेडका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले भारतका मेदान्त अस्पतालमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकले ग्राहकलाई स्वास्थ्य परीक्षण तथा उपचार सेवामा छुट उपलब्ध गराउने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित प्रतिष्ठित मेदान्त अस्पताल (द मेडिसिटी)सँग सम्झौता गरेको हो।

सम्झौताअनुसार एभरेष्ट बैंकका कार्डवाहक ग्राहकले नयाँ दिल्लीसहित गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा रहेका मेदान्त अस्पतालका १३ शाखामा उपचार गराउँदा छुट पाउनेछन्।

बैंकका अनुसार अधिकतम १५ प्रतिशतसम्मको छुट अस्पतालका विभिन्न स्वास्थ्य सेवामा लागू हुनेछ। छुट ओपीडी  अन्तर्गत डाक्टरको परामर्श, प्रयोगशाला तथा रेडियोलोजी सेवामा लागू हुनेछ। त्यस्तै आईपीडी अन्तर्गत बेड शुल्क, प्रयोगशाला तथा रेडियोलोजी सेवामा पनि छुटको व्यवस्था गरिएको छ। मेदान्त अस्पतालको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा समेत यो सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।

उक्त छुट सुविधा लिन ग्राहकले अस्पतालमा उपचार तथा सेवा लिएबापतको बिल एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ। बैंकका अनुसार सम्झौताअन्तर्गतको छुट अस्पतालमा उपलब्ध तोकिएका सेवामा मात्र लागू हुनेछ।

एभरेष्ट बैंकले उक्त सहकार्यबाट आफ्ना कार्डवाहक ग्राहकलाई भारतका विभिन्न शहरमा रहेको मेदान्त अस्पतालको स्वास्थ्य सेवामा थप सहज पहुँच प्राप्त हुने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्