२०८३ अशोज १६, शुक्रबार

दशैंमा काठमाडौं छाड्नेका लागि प्रहरीको १३ बुँदे सुझाव

जिल्ला प्रहरी परिसर काठमाडौंले दशैं लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गर्दै उपत्यकाबाहिर जाने नागरिकलाई १३ बुँदे सुरक्षा सुझाव दिएको छ। शुक्रबार सार्वजनिक गरिएको सुझावमा घर छाडेर बाहिर जानेदेखि यात्रा र अनलाइन कारोबारसम्म सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रहरीले बहुमूल्य गरगहना, नगद तथा महत्त्वपूर्ण कागजात घरमा नराखी बैंकको लकरमा सुरक्षित राख्न सुझाव दिएको छ। घर वा कोठाका ढोका–झ्याल सुरक्षित गरी आफू बाहिर जान लागेको जानकारी विश्वसनीय छिमेकी वा नजिकको प्रहरीलाई दिनसमेत अनुरोध गरिएको छ।

त्यस्तै, अपरिचित व्यक्तिलाई घर, कोठा वा कार्यालयमा प्रवेश नदिन र शङ्कास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी वा १०० मा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ। जुवा, तास, लङ्गुरबुर्जा लगायतका गैरकानुनी गतिविधिबाट टाढा रहन तथा मदिरा सेवनपछि झगडा, होहल्ला र असामाजिक व्यवहार नगर्न पनि सुझाव दिइएको छ।

प्रहरीले यात्रामा निस्कँदा नगद, गहना तथा अन्य बहुमूल्य सामग्रीको सुरक्षित व्यवस्थापन गर्न आग्रह गरेको छ। कुनै वस्तुमा मूल्यसूचीभन्दा बढी रकम लिइएमा वा ठगी भएको शङ्का लागे तत्काल प्रहरी वा सम्बन्धित निकायलाई जानकारी गराउन भनिएको छ।

अनलाइन किनमेल गर्दा फेक वेबसाइट, शङ्कास्पद लिङ्क तथा सामाजिक सञ्जालमा आउने ‘लोभलाग्दा अफर’मा नफस्न पनि प्रहरीले सचेत गराएको छ। नक्कली टिकट, ठगी तथा अवैध कारोबारबाट समेत सावधान रहन आग्रह गरिएको छ।

सवारी चलाउँदा मदिरा सेवन नगर्न र ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न प्रहरीले अनुरोध गरेको छ। भीडभाड हुने स्थानमा आफ्ना सामानसँगै बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न र पटका तथा आतसबाजीजस्ता जोखिमपूर्ण सामग्री प्रयोग नगर्न पनि सुझाव दिइएको छ।

प्रहरीले ‘हाम्रो सुरक्षा, हाम्रो जिम्मेवारी’ भन्दै दशैंका बेला सुरक्षा व्यवस्थापनमा प्रहरीसँग सहकार्य गर्न नागरिकलाई आग्रह गरेको छ। साथै, ‘छिटो कमाइ’, ‘लक्की अफर’ र ‘उपहार जितियो’ जस्ता सन्देश ठगीको माध्यम हुन सक्ने भन्दै त्यस्ता सन्देशप्रति विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्