गण्डकी प्रदेशमा आउँदो माघ १२ गते हुने तीन क्लष्टरको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का तीन उमेदवारले उमेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार आज बिहान ११ देखि साढे ११ बजेको बीचमा एमालेका पुण्यप्रसाद पौडेल, लीला थन्नेत थारु र अर्जुनकुमार सुनामले उमेदवारी दर्ता गराएका हुन् ।
पौडेल अन्य, थनेत महिला र सुनाम दलित क्लष्टरबाट निर्वाचन लड्दै छन् ।सत्तारूढ गठबन्धनतर्फका उमेदवारले भने दिउँसो १ बजे उमेदवारी दर्ता गराउने नेपाली कांग्रेस गण्डकी प्रदेश महामन्त्रीले जानकारी दिएका छन् । गठबन्धनबाट कांग्रेसकी कमला पन्त र नेकपा (माओवादी केन्द्र)का भुवन सुनार र सुरेश आलेमगर उमेदवार छन् ।
प्रदेशसभातर्फ सबैभन्दा धेरै एमालेको मतभार छ । २७ सांसद रहेका एमालेको मतभार एक हजार २९६ हुन्छ । १५ सांसद रहेको कांग्रेससँग ७२० मतभार छ । १२ सांसद रहेको माओवादीसँग ५७६ मतभार छ भने राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)सँग ९६/९६ मतभार छ ।स्थानीय तहतर्फ कांग्रेसका ८३ जनप्रतिनिधि छन् । उनीहरुको मतभार एक हजार ४१८ हुन्छ ।
७० जना एमाले जनप्रतिनिधिको मतभार एक हजार २६० छ भने १२ जना जनप्रतिनिधि रहेका माओवादी केन्द्रको मतभार २१६ छ । यहाँ जनमोर्चाका तीन जनप्रतिनिधि र राप्रपाका दुई जनप्रतिनिधि छन् । मतभार हिसाब गर्दा जनमोर्चाको ५४ र राप्रपाको ३६ हुन्छ । नेकपा (एकीकृत समाजवादी)को भने एकजना मात्र मतदाता छन् ।
स्याङ्जाको आँधीखोला गाउँपालिकाकी उपप्रमुख एकीकृत समाजवादीकी एक मात्र मतदाता हुन् । समाजवादीसंग १८ मतभार छ । स्वतन्त्र सांसद दीपक मनाङे गठबन्धनबाट सरकारमा सहभागी छन् । कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाको तीन हजार १७६ मतभार हुन्छ । उक्त मतभार एमालेको भन्दा ६२० ले बढी हो ।







प्रतिक्रिया लेख्नुहोस्