२०८३ बैशाख २, बुधबार

गीतकार एकनारायणको गीत ‘जुम्लाबाट आउनुभयो मित’ सार्वजनिक

गीतकार एकनारायण भण्डारीले आफ्नै स्वरमा ‘जुम्लाबाट आउनुभयो मित’ बोलको गीत सार्वजनिक गरेका छन् । आइतबार सार्वजनिक गरिएको गीतमा उनको शब्द, संगीत र स्वर छ ।

कैयौं लोकदोहोरी, आधुनिक तथा चलचित्रका हिट गीत लेखेका एकनारायणको स्वरमा यसअघि एउटा मात्र गीत सार्वजनिक छ । प्रशान्त मगरको कोरियोग्राफी, कुमार केसीको निर्देशनमा तयार भिडियोमा सुधीर श्रेष्ठ र विजय पुन मितको भूमिकामा छन् । गीतमा नेपालबाट हराउँदै गएको मितेरी साइनोको कथा प्रस्तुत गरिएको छ ।

हिमाली र पहाडीबीचको व्यावसायिक आदानप्रदान, भावनात्मक मित्रता, रहनसहनलाई एकनारायणले गीतमा प्रस्तुत गरेका छन् । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । लोकदोहोरी क्षेत्रका कलाकारहरुले गीतसँगै एक नारायणको स्वरको पनि प्रशंसा गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्