२०८३ असार १३, शनिबार

सर्वोच्चद्वारा सरकारका नाममा कम्तिमा स्नातक र १० वर्षको अनुभव भएकालाई मात्र विज्ञ नियुक्त गर्न आदेश जारी

सर्वोच्च अदालतले कुनै पनि विधाको विशेषज्ञ वा विज्ञ नियुक्त गर्दा कम्तिमा स्नातक उत्तिर्ण भएको र १० वर्ष सम्बन्धित विषयमा अनुभव भएको व्यक्ति चयन गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको सदस्य नियुक्तिसम्बन्धी विवादमा सर्वोच्चले न्यूनतम स्नातक र १० वर्षे अनुभव भएको व्यक्तिमध्ये योग्यतम् व्यक्तिलाई खुला र प्रतिस्पर्धी आधारमा मात्रै नियुक्त गर्न आदेश दिएको हो । तत्कालिन उद्योगमन्त्री लेखराज भट्टले ११ माघ २०७७ मा बाजुरा बुडिनन्दा नगरपालिका(५ का सहदेव बोगटीलाई निगमको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । सदस्यमा नियुक्त भएका बोगटी एसएलसी उत्तिर्ण थिए भने ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिमा सदस्य भई काम गरेका थिए । उनी खप्तड क्षेत्र पर्यटन विकास समितिको ४ वर्ष अध्यक्ष बनेका थिए ।

तर शैक्षिक योग्यताका साथै सम्बन्धित क्षेत्रको ज्ञान र अनुभव नभएको व्यक्तिलाई विज्ञ सदस्य नियुक्त गरिएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालतमा मुद्दा हालेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्