२०८३ असार २८, आइतवार

गणेश नेपाली प्रकरणमा सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति

त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू गाउँपालिका–१, जवलधाराका २५ वर्षीय गणेश नेपालीको घटनाबारे संघीय सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ।

आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन, दोषीमाथि आवश्यक कारबाही, पीडित परिवारलाई राहत तथा मृतकका परिवारको दीर्घकालीन व्यवस्थापनका विषय समेटिएका छन्।

सहमतिअनुसार सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति यथाशीघ्र गठन गर्नेछ। समितिले गठन भएको सात दिनभित्र घटनाबारे अध्ययन गरी सरकारसमक्ष प्रतिवेदन पेश गर्नेछ।

छानबिन समितिको प्रतिवेदन, प्रचलित कानुन र विगतको अभ्यासका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ।

घटनाको दिन अग्रपंक्तिमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई तत्कालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्नेछ। उनीहरूमाथिको थप कारबाही भने छानबिन समितिको प्रतिवेदनका आधारमा गरिनेछ।

पीडित परिवारको दीर्घकालीन व्यवस्थापनअन्तर्गत काठमाडौं महानगरपालिकाले मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी उपलब्ध गराउने तथा उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था गर्ने भएको छ। यसका लागि सम्बन्धित सरकारी निकायबीच आवश्यक समन्वय गरिने सहमतिमा उल्लेख छ।

त्यस्तै, महानगरपालिकाले आफ्नो आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकका आश्रित परिवारलाई राहत उपलब्ध गराउनेछ। मृतकको अन्तिम संस्कार तथा काठमाडौंमा हुने काजक्रियाको सम्पूर्ण व्यवस्थापन पनि महानगरपालिकाले नै गर्ने भएको छ।

सहमतिअनुसार मृतकका एकाघरका परिवारको काठमाडौं आउजाउ, बसोबास तथा काजक्रियासम्बन्धी सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ। साथै परिवारको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत मिलाइनेछ।

यता पीडित पक्षले शव बुझ्ने, पोस्टमार्टमलगायत कानुनी प्रक्रियामा सहयोग गर्ने तथा अन्तिम संस्कार सम्पन्न गर्ने जिम्मेवारी लिने सहमति जनाएको छ।

सहमतिपत्रमा सरकार तथा स्थानीय तहका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्। पीडित परिवारका तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपाली तथा वार्ता टोलीका सदस्यहरूले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्