२०८३ असार ३१, बुधबार

फ्रान्सलाई २–० ले हराउँदै स्पेन विश्वकपको फाइनलमा

स्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

डलासस्थित रङ्गशालामा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई दबाबमा राख्यो। बलमाथि आफ्नो नियन्त्रण कायम राखेको स्पेनले सिर्जना भएका अवसरको प्रभावकारी उपयोग गर्दै फाइनल यात्रा तय गरेको हो।

स्पेनले खेलको पहिलो गोल पहिलो हाफको मध्यतिर पेनाल्टीमार्फत गर्‍यो। फ्रान्सका लुकास डिन्येले लामिन यामाललाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि प्राप्त अवसरलाई मिकेल ओयारजाबालले सहज रूपमा गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।

दोस्रो हाफमा पनि स्पेनले आफ्नो दबाब कायम राख्यो। डानी ओल्मोसँग उत्कृष्ट पास आदानप्रदानपछि पेड्रो पोरोले नजिकको कोणबाट आकर्षक गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए।

दुई गोलले पछि परेको फ्रान्सले खेलमा फर्कने प्रयास गरे पनि स्पेनको अनुशासित र संगठित रक्षापङ्क्ति भेद्न सकेन। प्रतियोगिताभर उत्कृष्ट रक्षात्मक प्रदर्शन गरेको स्पेनले अन्तिमसम्म अग्रता जोगाउँदै सहज जित निकाल्यो।

यससँगै लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने फ्रान्सको सपना पनि समाप्त भएको छ। फ्रान्सले अब तेस्रो स्थानका लागि हुने खेल खेल्नेछ। साथै, १४ वर्षदेखि टोली सम्हालिरहेका मुख्य प्रशिक्षक डिडियर डेसचाम्पको कार्यकाल पनि यही प्रतियोगितापछि सकिनेछ।

अब स्पेन उपाधिका लागि न्यु जर्सीमा हुने फाइनलमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनल विजेतासँग भिड्नेछ। सन् २०१० मा पहिलो पटक विश्वकप जितेको स्पेन दोस्रो विश्व उपाधिको खोजीमा रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्