२०८३ अशोज २७, मङ्लबार

काजीको जीवनमा फेरि नयाँ मोड, ‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र कात्तिक ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।

चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ, रिश्मा गुरुङ, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्चसुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंसहितका कलाकारको अभिनय छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता दयाहाङ राईले काजी पात्रको स्वभाव र लेखनबारे चर्चा गरे। निर्देशकको लेखनमा पात्रको स्वभाव झल्किने र कलाकारले त्यसमा आफ्नो अभिनयमार्फत चरित्रलाई थप जीवन्त बनाउने उनको भनाइ थियो।

उनले काजीको जीवनमा आउने परिस्थितिलाई पनि रमाइलो शैलीमा प्रस्तुत गरे। काजीको जीवनमा चार जना छन्त्याल पात्र रहेको प्रसङ्ग उल्लेख गर्दै उनले बिके र छन्त्यालले गोलाप्रथाबाट निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने बताए।

अभिनेत्री सिर्जना गुरुङले ‘कबड्डी’ शृङ्खलालाई दर्शकले पहिलो भागदेखि नै साथ दिँदै आएको बताइन्। पाँचौँ भागमा काजीको जीवनमा नयाँ परिस्थिति र परिपक्वता देख्न पाइने उनको भनाइ छ।

उनले भनिन्, “कबड्डी सिरिज १ देखि नै हेर्नुभएको सबैलाई काजीको व्यवहार थाहा छ। तर यो पाँचौँमा चाहिँ हामीले पक्कै पनि काजीको एक किसिमको म्याचुरिटी देख्नेछौँ।”

अभिनेता विजय बरालले पनि चलचित्रका पात्र र कथासँग जोडिएका प्रसङ्ग सुनाउँदै कार्यक्रममा रमाइलो माहोल बनाए। उनले बिके पात्रलाई अरूभन्दा केही बाठो भन्दै पहिले चिठी लेख्ने र अहिले पनि अगाडि बढेर जिज्ञासा राख्ने पात्रका रूपमा चित्रण गरे। सुहागरातबारे बिकेले सोध्ने प्रश्नको प्रसङ्ग सुनाउँदै उनले दर्शकलाई हँसाए।

‘कबड्डी’ शृङ्खलाका अघिल्ला भागबाट स्थापित पात्र र तिनको सम्बन्धलाई नयाँ परिस्थितिमा प्रस्तुत गर्ने अपेक्षासहित चलचित्र कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

प्रतिक्रिया लेख्नुहोस्