२०८३ कार्तिक १०, सोमवार

एनपीएलमा लुम्बिनीको सानदार जित, सुदूरपश्चिम ७ विकेटले पराजित

साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। यस जितसँगै लुम्बिनीले प्रतियोगिताको उद्घाटन खेलमै महत्त्वपूर्ण दुई अंक जोडेको छ। लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा चार चौका र तीन छक्का प्रहार गरे। सर्टले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए। आसिफले ३२ रन बनाए।

त्यसपछि निरोशन डिक्वेला सात रनमा बोल्ड भए भने शमिम हुसेन एक रनमा आउट भए। कप्तान रोहितकुमार पौडेल पाँच रनमा अविजित रहे। सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे।

किशोर र शेरको घातक बलिङ
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो। लुम्बिनीका बलर किशोर महतो र शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिमको ब्याटिङ लाइनअपलाई दबाबमा राखेका थिए। किशोरले चार र शेरले तीन विकेट लिए। कप्तान रोहितकुमार पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाल्कवाइकले समान एक विकेट लिए।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। सैफ अली जैबले १३, विनोद भण्डारीले नौ, इशान पाण्डेले सात, ब्रान्डन म्याकमुलेनले दुई र शेरफन रदरफोर्डले एक रन जोडे। स्कट कुगेलेइन र हेमन्त धामी खाता नखोली आउट भए। अनिल खरेल १७ रनमा अविजित रहे।

एनपीएलमा पहिलो पटक डीआरएस प्रयोग
यस संस्करणको उद्घाटन खेलमा नेपालमा पहिलो पटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग गरिएको छ। खेलको दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले एलबीडब्ल्युको अपिल गरेका थिए। अम्पायरले आउट नदिएपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले डीआरएस लिएका थिए। तर, पुनरावलोकनबाट लुम्बिनीको अपिल सफल हुन सकेन।

एनपीएलअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन्। दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन्।

प्रतिक्रिया लेख्नुहोस्