‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको दोस्रो सिनेमा ‘जलाकी’को अमेरिका र क्यानडाका लागि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। निर्देशक मगरका अनुसार पिएनएम एलएलसीले दुवै देशको प्रदर्शन अधिकार खरिद गरेको हो।
सिनेमाको अमेरिका र क्यानडामा प्रदर्शन मिति वितरक र निर्माताबीचको आपसी छलफलपछि तय गरिने निर्देशक मगरले बताएका छन्। नेपालमा भने ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
सिनेमाका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीतसँगै टिजर सार्वजनिक भइसकेका छन्। सार्वजनिक गीत तथा टिजरले दर्शकमाझ चर्चा पाइरहेका छन्। विशेषगरी ‘चाँदी जलप’ बोलको गीतमा १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन्। अन्य दुई गीत पनि रिल्स तथा सर्ट्समा रुचाइएका छन्।
मगर र गुरुङ समुदायको आस्था, संस्कृति, परम्परा र भावनामा आधारित ‘जलाकी’मा सांस्कृतिक पहिचानलाई मुख्य विषय बनाइएको छ। निर्देशक मगरका अनुसार मगर समुदायको आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई ‘जलाकी’ भनिन्छ। यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर सिनेमाको कथा तयार गरिएको उनले बताएका छन्।
सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायत कलाकारको अभिनय छ। क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन् भने मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर बालकलाकारका रूपमा छन्। यसै सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गर्दैछिन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्। सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछन्।







प्रतिक्रिया लेख्नुहोस्