२०८३ कार्तिक १४, शुक्रबार

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली सर्वसम्मत निर्वाचित

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा कामना सेवा विकास बैंकका अध्यक्ष दिनेश थकाली निर्वाचित भएका छन्। एसोसिएसनको कात्तिक १३ गते सम्पन्न २१औँ वार्षिक साधारण सभाले थकालीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

काठमाडौंमा सम्पन्न साधारण सभाले थकालीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानान्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापागाईं निर्वाचित भएका छन्।

यसअघि एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पूरा गरी बाहिरिएपछि थकालीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

थकालीको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ। साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरेको छ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष थकालीले विकास बैंकिङ क्षेत्रमा संस्थागत सुशासन, जोखिम व्यवस्थापन, डिजिटल रूपान्तरण, मानव संसाधनको क्षमता अभिवृद्धि तथा कर्जाको गुणस्तर र असुली सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

उनले सदस्य बैंकहरूबीच उत्कृष्ट अभ्यास र ज्ञान आदानप्रदानलाई थप प्रभावकारी बनाउने पनि बताएका छन्। हाल नेपालमा ८ वटा राष्ट्रियस्तरका र ९ वटा क्षेत्रीयस्तरका गरी कुल १७ वटा विकास बैंक सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्