२०८३ कार्तिक १४, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा

सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। बैंकले २२औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार केन्द्रीय कार्यालय बालुवाटारमा कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यात्रामा साथ दिने संस्थापक, सञ्चालक समिति, ग्राहक, शेयरधनी, कर्मचारी तथा नियमनकारी निकायलगायत सबैप्रति आभार व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापतीले आगामी दिनमा बैंकका सेवालाई अझ स्मार्ट, आधुनिक र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि घोषणा गरेको छ। हुम्लाको सिमकोटस्थित डाँडाफया हेल्थपोस्टमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने बैंकले जनाएको छ। शिविरमा प्रसूति रोग विशेषज्ञबाट सेवा उपलब्ध गराइनेछ।

त्यस्तै, हुम्लाको सिमकोट–२ स्थित श्री रामदेव माध्यमिक विद्यालयका १०३ जना विद्यार्थीलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरिने भएको छ। रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ स्थित खुङ्ग्री हेल्थपोस्टलाई एक–एक थान बेबी वार्मर र अटोक्लेभ ड्रम सेट उपलब्ध गराउने पनि बैंकले घोषणा गरेको छ।

वार्षिकोत्सवका अवसरमा बैंकमा पाँच र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो।बैंकका अनुसार हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह भइरहेको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा विस्तार गर्ने बैंकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्