काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँचजना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार साँझ सशस्त्र प्रहरी बल, नेपालले उनीहरूलाई नियन्त्रणमा लिएको हो । एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको हो ।
नियन्त्रणमा पर्नेहरूमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह तथा बंगलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन् । रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्ने क्रममा नौ जना बंगलादेशी नागरिकका १४ थान राहदानी र ठूलो संख्यामा आर्थिक लेनदेन भएको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत फेला परेको छ ।
नियन्त्रणमा परेका जाहिंगिर आलममाथि एकजना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेको खुलेको छ । उनी २०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएको बताइएको छ ।
नियन्त्रणमा लिइएका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाइएको छ सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्